नेपाल भ्रमण वर्ष–२०२० युरोपको ईटालीबाट औपचारिक शुभारम्भ


वसन्त रानाभाट,बार्सिलोना।

नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ भएको छ। ईटालीको रोममा शुक्रबार साँझ एक समारोहबीच पर्यटन प्रवद्धनको कार्यक्रमसहित शुभारम्भ भएको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कार्यक्रमको उद्घाटन गर्दै नेपाल बिबिधतायुक्त देश भएकाले नेपाल पुग्न अनुरोध गरे। भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले भिजिट नेपालको उदेश्यबारे प्रकाश पार्दै प्रस्तुति राखेका थिए। उनले भिजिट नेपाल २०२० को उदेश्यबारे प्रकाश पारे। यसबर्षमा पर्यटकहरुले लिन सक्ने फाईदाका बारेमा पनि उनले जानकारी गराए।

कार्यक्रममा पर्यटन सचिव मोहोनकृष्ण सापकोटा,होटल एशोसिएशन नेपाल (हान)का अध्यक्ष सृजना राणा, गैर आबासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष डा. बद्री केसी,सपिलाराज भण्डारी लगायतले नेपालको पर्यटन प्रवद्धनबारे बोलेका थिए। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाको पनि कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागि बने।

ईटालीका लागि नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीले ईटाली भाषामा प्रस्तुति राख्दै सहभागिहरुलाई नेपाल घुम्न प्रेरित गरे। उनले दुईजनालाई नेपाल आवातजावतका लागि दुईवटा हवाई टिकट आँफूले उपलब्ध गराउने घोषणा गर्दै संसारकै सुन्दर देशमा पुग्न अनुरोध गरे।

कार्यक्रममा सयभन्दा बढि इटालियनहरु सहभागी थिए। इटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा युरोपभरका गैरआवासीय नेपालीहरुको उपस्थिति थियो। दुईदिनसम्म चल्ने एनआरएनको युरोपेली बैठक भने आजदेखि सुरु भएको छ।

युरोपभरका नेपाली राजदूतहरुसँग छलफल

नेपाल भ्रमण वर्ष–२०२० आयोजकले युरोपस्थित नेपाली राजदूतहरुसँग छलफल गरेको छ। भ्रमणबर्षलाई सफल पार्न दूताबासबाट भएका पर्यटन प्रवद्वन गतिबिधिबारे चासो राखेको छ।युरोपका बिभिन्न मुलुकहरुमा पर्यटन प्रवद्वनका लागि भएका गतिबिधिहरुबारे सो अबसरमा राजदूतहरुले जानकारी गराएका थिए।

छलफलमा बेल्जियमका लागि नेपालीराजदूत लोकबहादुर थापा,फ्रान्सका दीपक अधिकारी,जर्मनीका रमेशप्रसाद खनाल,डेनमार्कका युवनाथ लक्साल,अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरेको उपस्थिति थियो। यस्तै स्वीट्जरल्याण्डबाट उपनियोगप्रमुख तिर्थराज वाग्ले, स्पेनबाट प्रथम सचिव तथा हालका कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतको नेपाली दूताबासबाट द्वितीय सचिव लभा सुबेदीको उपस्थिति थियो।