युरोपको आकाशमा नेपाली झण्डावाल जहाज कहिले उड्छन् ?


बार्सिलोना । युरोपका नौ देशका नेपाली राजदूतबीचको नेपालको आर्थिक कूटनीतिबारे शनिबार इटालीको रोममा बहस चलिरहेको थियो। एनआरएनहरुको युरोपेली बैठकमा राजदूतहरुले व्यापार, लगानी, वैदेशिक रोजगार र पर्यटनक्षेत्रका बारे आ-आफ्ना अनुभव सुनाइरहेका थिए। आफ्नो जिज्ञासा राजदूतहरुलाई खुल्लारुपमा सोध्नका लागि अनुरोध गरियो।

सोही अवसरमा लण्डनलाई कार्यथलो बनाएर बीबीसी नेपाली सेवामा लामो समय पत्रकारिता गरेका पत्रकार भगीरथ योगीले युरोपियन युनियन (इयु) का लागि नेपाली राजदूत लोकबहादुर थापालाई प्रश्न सोधे, ‘हामीले भ्रमण वर्ष २०२० को कुरा गरिराखेका छौं। अहिलेसम्म पनि युरोपमा नेपाली विमान उडाउनलाई प्रतिबन्ध छ। त्यो प्रतिबन्ध फुकुवा गर्नका लागि के प्रयास भइरहेको छ ?

राजदूत थापाले आफ्नोतर्फबाट सम्बन्धित निकायमा पहल गरिराखेको जवाफ दिए। उनले भने, ‘डिजीलगायत टेक्निकल डिपार्टसँग धेरै चोटी बसेर छलफल गरिसकेका छौं।’ प्रतिबन्ध फुकुवाका लागि दुई-तीनवटा कुराहरु महत्वपूर्ण रहेको राजदूत थापाले औल्याए। ‘एउटा कूटनितिक रुपमा के गर्ने भन्ने हाम्रो बिषय छ। त्यसका लागि आफ्ना कुराहरु राख्ने काम गरिरहेका छौ,’ राजदूत थापाले भने।

ईयुका लागि आँफू राजदूत रहे पनि अन्य सदस्य राष्ट्रका राजदूतहरु पनि यसका लागि जिम्मेबार हुनुपर्ने उनको संकेत थियो।  यसबारे प्रष्ट पार्दै राजदूत थापाले भने, ‘यहाँ सम्पूर्ण महामहिम ज्युहरु हुनुहुन्छ। ईयु एउटा यस्तो संस्था हो तर त्यसका प्रतिनिधि राष्ट्रहरु हुन्छन्। प्रत्येक ईयुका सदस्य राष्ट्रहरुमा समेत आ-आफ्नो तर्फबाट लभिङ्ग गर्न जरूरी छ।’

राजदूत थापाले जवाफ दिए लगत्तै डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले खुशीको खबर भन्दै सहभागीलाई उत्साहित बनाउने प्रयास गरे। राजदूत लम्सालले भने, ‘पर्यटनको कुरागर्दा सिधा हवाई उडानले महत्वपूर्ण भूमिका खेल्छ। यहाँहरुलाई खुशीको खबर छ। फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने तयारी हुँदैछ। सम्भवत: २०२० लाग्दा नलाग्दा खुशीको खबर सुन्न पाउनु हुनेछ।’

फिनल्याण्डलाई समेत आँफैले हेर्ने हुँदा सहभागिहरु उत्साहित होलान् भन्ने ठानेर राजदूत लम्सालले भ्रमण वर्षलाई जोडेर सिधा हवाई उडानबारे त बोले। तर, सहभागिको प्रतिक्रिया अपेक्षा बिपरित आयो। सभाहलबाट राजदूतलाई जवाफ फर्कियो, ‘अर्काको देशका झण्डा बोकेका जहाजहरु उडाएर पनि के -को खुशीको कुरा भन्नुहुन्छ ? सक्नुहुन्छ भने नेपाली झण्डा वला जहाज युरोपको आकाशमा उडाउनु नि।’

राजदूत लम्सालले मुन्टो हल्लाउदै भने, ‘त्यो त हो ।’

आइतबार इटालीको रोममा सम्पन्न एनआरएनको १२ औ युरोपेली बैठकले पनि घोषणापत्र जारी गर्दै नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।