एनआरएन चुनाव:- युकेबाट अधिकारीले केन्द्रिय सचिवमा उम्मेदवारी दिने


लण्डन। एनआरएनए युकेमा उपमहासचिव पदमा रही काम गरेका बेलायत निवासी बिनय अधिकारीले केन्द्रिय सचिव पदमा उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोवरमा काठमाडौमा हुने गैर आबासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा अधिकारीले केन्द्रिय सचिव पदमा उम्मेदवारी दिन लागेका हुन्। 

केन्द्रिय सचिव पदका प्रत्यासी अधिकारी भन्छन्, “हाम्रो देशका बिकट क्षेत्रहरुमा अहिले पनि सिटामोल खाने अवस्था छैन । एनआरएनएले ठोस योजना ल्याएर  कत्तिमा विकट ठाउँमा एक प्रदेश एक एनआरएनए अस्पतालको अवधारणा ल्याउनुपर्छ।” नेपालमा स्थायी सरकार र लगानीको बाताबरण रहेकाले ठोस योजना सहित अघि बढ्नुपर्नेमा उनले जोड दिए। 

बिदेशमा सिकेको ज्ञान सिप र प्रबिधि हस्तान्तरणको बिषय अहिले बहसमा आएजस्तै एनआरएनको केन्द्रिय नेतृत्वमा समेत उनिहरुलाई समेट्नुपर्ने अधिकारीको भनाई छ। “ब्यबसायीहरुमात्र एनआरएन केन्द्रमा हावी भएको धेरैको  बुझाई छ। पत्रकारिता क्षेत्रमा लागेका साथीहरुको प्रतिनिधित्व गर्दै म पनि केन्द्रमा जादै छु। केन्द्रिय तहमा सबै क्षत्रको प्रतिनिधित्व रहनुपर्ने आवाज सुनेकाले नै मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ” उनले भने। 

औपचारिक शिक्षामा अल्झिएको नेपाली शिक्षालाई ब्यबहारिक बनाउन एनआरएनएले पहल गर्नुपर्ने उनले बताए। अधिकारी भन्छन् “कम्तिमा दुई बर्षमा एक प्राविधिक शिक्षालयको अवधारणा अघि सारियो भने १४ बर्षमा सातै प्रदेशमा प्राविधिक शिक्षालय खुल्छन् । बरु यसकानिम्ति  सामुहिक लगानीको अबधारणा ल्याउन सकिन्छ।”

 बेलायतमा अनिवार्य रुपमा सवारीको प्राविधिक चेकजाँच गरिए जस्तै सडक दुर्घटना कम गर्न नेपालले पनि पाठ सिक्नु पर्ने उनको भनाई छ। यसबारे प्रष्ट पार्दै अधिकारी भन्छन् ,” हामी कहाँ दैनिक सवारी दुर्घटनाबाट सयौले अकालमा ज्यान गुमाईरहेका छन्। दुर्घटना कम गर्न एनआरएनले ठुलो रोल लिन सक्छ। हामीसँग विदेशका थुप्रै अनुभवहरु छन्। मात्र अनुभव र सिप हस्तान्तरणको तालेमेल मिलेको देखिदैन। 

एनआरएनले विभिन्न समिति,उपसमिति तथा कार्यदलहरु बनाएर गतिबिधिहरु संचालन गर्दै आएको भएपनि अधिकांशभन्दा बढी समितिहरुले नियमित छलफल तथा बैठक समेत नगरेको उनको गुनासो छ। अधिकारी भन्छन् ,”तिनै समितिहरुमा विज्ञताभएका साथीहरुलाई ल्याएर योजना अनुरुप काम गर्न सकियो भने मुलुकका लागि ठुलो योगदान दिन सकिन्छ।”