एनआरएन स्पेनको अध्यक्षमा पेशलकुमार कोईरालाको उम्मेदवारी


एनआरएनए स्पेनको अध्यक्ष पदका प्रत्यासी पेशल कुमार कोईराला

बार्सिलोना। एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि पेशल कुमार कोईरालाले उम्मेदवारी दिने भएका छन्।  सेप्टेम्बर पहिलो साता हुने संघको छैँठौ अधिबेशनमा कोईरालाले नेतृत्वमा दावी गरेका हुन्।


बर्तमान कार्यसमितिका उपाध्यक्ष कोईरालाले सामाजिक संजालमार्फत आँफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका छन्। उनले फेसबुकमार्फत उम्मेदवारी घोषणाको जानकारी दिदै लेखेका छन्,” स्पेनस्थित नेपाली समुदायको एकता र हितमा अनवरत रूपमा लाग्ने प्रण गर्दै यहाँहरुकै सेवामा समर्पित हुने चाहनाले नेतृत्व गर्ने ईच्छा ब्यक्त गरेको हुँ। अमुल्य मत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु।”

कोईराला सन् २०१३-२०१५ को कार्यकालमा सदस्य, २०१५-२०१७ मा कोषाध्यक्ष हुँदै हाल २०१७-२०१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरेका छन्। उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेतापनि हालसम्म आफ्ना कार्ययोजनाहरु भने मतदाताहरु समक्ष सार्बजनिक गरेका छैनन्। 

अध्यक्ष पदका लागि यसअघि पुर्ब महासचिव दिनेश गुरुङ (देउकाजी) ले घोषणासभाको आयोजना गर्दै उम्मेदवारी दिने बताएका थिए। गुरुङ प्रवासी नेपाली एकता मञ्च स्पेन निकट र कोईराला नेपाली जनसम्पर्क समिति स्पेन निकटका उम्मेदवार हुन्।

 एनआरएन स्पेनको  छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा बार्सिलोनामा हुँदैछ। निर्बाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार क्षेत्रीय कमिटीहरुमा सेप्टेम्बर ८ मा र केन्द्रमा (बार्सिलोनामा) ९ तारिख निर्बाचन हुँदैछ। समितिले शनिबार मतदाताहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ।