एनआरएनए स्पेनमा नयाँ मोड:- दुई आईसीसी सदस्यका लागि निर्बाचन हुने


बार्सिलोना। एनआरएनए स्पेनको निर्बाचनले नयाँ मोड लिएको छ। संघको छैठौ अधिबेशनका लागि भएको निर्बाचन प्रक्रियामा दुईजना आईसीसी सदस्यका लागि आबेदन माग भएपछि निर्बाचनले नयाँ मोड लिएको हो। शनिबार निर्बाचन समितिले सूचना जारी गर्दै एनआरएनए स्पेनमा २३९६ जना पंजीकृत सदस्यता बिबरण प्राप्त भएको जनाएको छ। 

पंजीकृत सदस्यताको बिबरणपछि समितिले केन्द्रको बिधान अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि २ जना उम्मेदवारको आबेदन माग गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरेको छ। 

नयाँ नेतृत्वका लागि उम्मेदवारहरु निर्बाचनमा भिड्ने तयारी सहित सयौको संख्यामा एकैपटक सदस्यहरुको बिबरण बुझाएपछि निर्बाचन प्रक्रियाले नयाँ रुप लिएको हो। ।शुक्रबार नेपाली जनसम्पर्क समिति र प्रबासी नेपाली एकता मञ्च निकट उम्मेदवारहरुका समर्थकले झन्डै १४ सय सदस्यहरुको बिबरण र रकम एकैपटक बुझाएका थिए। यो सँगै एनआरएनए स्पेनको ईतिहासमा नै पहिलोपटक २ हजार बढी पंजीकृत सदस्यहरु बनेका छन्। २ आईसीसी सदस्य पद बराबर सदस्यहरु बनेपछि संघको निर्बाचनले समेत नयाँ मोड लिएको हो। 

 निर्बाचन समितिका सदस्य दिनेशराज रेग्मीका अनुसार एमआईएस प्रणाली मार्फत अनलाईन दर्ता भएका १५२ जना , क्षेत्रीय समितिहरु म्याड्रिडबाट ३९४ जना,पाईसभास्कोबाट ३३२ र ग्रान क्यानेरियाबाट १२२ जना सदस्यहरुको बिबरण निर्बाचन समितिलाई प्राप्त भएको छ। एनआरएनए स्पेनको केन्द्र ठानिने बार्सिलोनाबाट एमआईएस बाहेक १३९७ जना पंजीकृत सदस्यहरुको बिबरण पेश गरिएको छ। 

एनआरएन स्पेनलाई चुनौती 

निर्बाचन समितिले दुई आईसीसी सदस्यका लागि आबेदन माग गरेपनि सम्पूर्ण सदस्यहरुको बिबरण एमआईएस प्रणालीमा दर्ता गर्नुपर्ने संघलाई चुनौती रहने छ। केन्द्रले सेक्टेम्बर १५ तारिखभित्र राष्ट्रिय समन्वय परिषदहरुलाई सम्पूर्ण बिबरण राख्न निर्देशन दिएको छ। 

संघका केन्द्रिय महासचिव डा. बद्री केसीले एनसीसीले जतिसुकै सदस्यताहरु बितरण गरेपनि केन्द्रले एमआईएस प्रणालीमा दर्ता भएका सदस्यहरुलाई नै मान्यता दिने बताएका छन्। नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भने,” २ हजार भन्दा बढी सदस्य बाँडिएपनि तोकिएको मितिभित्र अनलाईन सिष्टममा सदस्यहरु दर्ता भएनन् भने एमआईएस प्रणालीमा जति सदस्यहरु छन् त्यसैलाई नै मान्यता दिन्छौ। त्यही सदस्यता बराबरको आईसीसी सदस्य र अन्तर्राष्ट्रिय महाधिबेशन प्रतिनिधिहरु बन्नेछन्।”

अक्टोबरमा हुने संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा प्रतिनिधिहरुको रुपमा भाग लिन पनि अनिबार्य रुपमा सोही प्रणालीमार्फत दर्ता हुनुपर्ने केन्द्रले बताउदै आएको छ। 

बिबाद 

तर  कतिपय एनसीसीहरुले भने आफ्नै सिष्टम प्रयोग गरेर सदस्यता बितरण गरेका छन्। ति मुलुकहरुको हकमा पनि एमआईएस प्रणाली मार्फत नै सदस्यहरुको डाटा सहित दर्ता गर्न आईसीसीको निर्देशन दिएको छ। 

कतिपय एनसीसीले प्रक्रिया नपुर्याई सहमतिमा दुई आईसीसी सदस्य समेत बाँडफाँड गरेका छन्। केन्द्रले आफ्नो निर्देशनलाई पुनर्विचार गरेन वा एनसीसीले केन्द्रको निर्देशनलाई बेवास्ता गरेको खण्डमा धेरै मुलकहरुमा एमआईएस प्रणालीकै कारण बिबाद उत्पन्न हुने खतरा देखिन्छ। 

एनआरएन स्पेनको  छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा बार्सिलोनामा हुँदैछ। निर्बाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार क्षेत्रीय कमिटीहरुमा सेप्टेम्बर ८ मा र केन्द्रमा (बार्सिलोनामा) ९ तारिख निर्बाचन हुँदैछ।