एनआरएनए स्पेनको निर्बाचन:-कसले कुन पदमा दिए उम्मेदवारी ?


बार्सिलोना। एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि दिनेश गुरुङ (देउकाजी) र पेशल कुमार कोईराला भिड्ने भएका छन्। आईतबार दुवैजनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि निर्बाचन लड्ने निश्चित भएको हो। गुरुङ संघका पुर्ब महासचिव हुन् भने कोईराला बर्तमान उपाध्यक्ष हुन्। 

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि ३ जनाको उम्मेदवारी परेको छ। संघका बर्तमान अध्यक्ष चिन्तामणी सापकोटा,बर्तमान उपाध्यक्ष सुनिल रानाभाट र पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिना आईसीसी सदस्य पदका लागि भिड्ने भएका हुन्। 

एमआईएस बिबाद 

एनआरएनए स्पेनमा २३९६ जना पंजीकृत सदस्यता भएपछि ईतिहासमै पहिलोपटक स्पेनमा दुई आईसीसी पदका लागि निर्बाचन हुने भएको छ। केन्द्रको बिधान अनुसार भन्दै निर्बाचन समितिले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि २ जना उम्मेदवारको आबेदन माग गरेपछि निर्बाचनले नयाँ मोड लिएको छ। 

तर सेक्टेम्बर १५ तारिखभित्र राष्ट्रिय समन्वय परिषदहरुलाई सम्पूर्ण सदस्यको बिबरण एमआईएस प्रणालीमा दर्ता गर्न केन्द्रले निर्देशन दिएको छ। तर स्पेनमा एमआईएस प्रणालीमा हालसम्म २९८ जना मात्र पंजीकृत सदस्य छन्। 

केन्द्रिय महासचिव डा.बद्री केसीले तोकिएको मितिमा एमआईएसमा सदस्यहरु दर्ता नभएको खण्डमा आईसीसी सदस्य थप गर्न नसकिने बताउदै आएका छन्। केन्द्रले आफ्नो निर्देशन परिबर्तन नगरेको खण्डमा वा तोकिएको मितिमा २ हजार बढी सदस्यहरु एमआईएसमा दर्ता नभए एनआरएनए स्पेनमा बिबाद आउने संकेत देखिएको छ।

अन्य कुन पदमा कसको उम्मेदवारी ?

खुल्लातर्फको दुई उपाध्यक्ष पदका लागि दिनेशकुमार गिरी,सनु राउत र उत्तर कुमार राईको उम्मेदवारी परेको छ। एक उपाध्यक्ष (क्षेत्र) छुट्टाईएकोमा राम प्रसाद दाहाल र तुलसी बहादुर गुरुङले उम्मेदवारी दिएका छन्। यस्तै महासचिव पदका लागि बिनय अधिकारी र उमराज ढकाल (राज) भिड्ने भएका छन्। 

खुल्लातर्फ दुई सचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। भुवन कटुवाल,रबि पुडासैनी,दुर्गा प्रसाद घिमिरे (लेकाली) ,धुब्र भट्ट र मेघनाथ ढकाल चुनावी मैदानमा उत्रिएका छन्। पाईसभास्कोतर्फ क्षेत्रीय सचिव पदको कोटामा राजेन्द्र सेढाई र महानारायण चौधरीको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदका लागि शन्त बहादुर क्षेत्री र गोबिन्दप्रसाद तिमिल्सिना र सह-कोषाध्यक्षमा महन्त महर्जन र शान्ता राणा तथा महिला संयोजकमा मौसमी गुरुङ् (समी) र पार्वती वली भिड्ने भएका छन्। 

यस्तै ६ जना सदस्यका लागि १० जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ। आङ् लाक्पा शेर्पा,भुप्रेन्द्रकुमार श्रेष्ठ,सोमप्रसाद गुरुङ,शालिकराम डुम्रे,बिदुर गौतम,लक्ष्मण खत्री,तारानाथ अधिकारी,ईमा सापकोटा भट्ट,शितल खतिवडा,पान बहादुर गुरुङ र हेम बहादुर मल्लको उम्मेदवारी परेको हो। 

को-को बने निर्बिरोध ?

संघको छैँठौ अधिबेशनका लागि भएको निर्बाचन प्रक्रियामा महिला उपाध्यक्षमा सुमित्रा घिमिरे सापकोटामा मात्र उम्मेदवारी परेपछि उनि निर्विरोध बन्ने पक्का भएको छ। यस्तै युवा संयोजकमा सुरेश शर्मा,क्षेत्रीय सचिवपदका लागि म्याड्रिडबाट मेघनाथ ढकाल र ग्रान क्यानेरियाबाट दिपेन्द्र श्रेष्ठको मात्र उम्मेदवारी परेको छ। दावी बिरोधको प्रक्रियापछि एकल उम्मेदवारहरुलाई निर्बिरोध निर्बाचित भएको घोषणा निर्बाचनसमितिले गर्ने छ। 

काँग्रेस भर्सेस कम्युनिष्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आँफूलाई स्वतन्त्र, गैरनाफामुलुक,गैरराजनीतिक,गैरसरकारी संघको रुपमा व्याख्या गर्दै आएको छ। तर यो केवल बिधानको पानामा मात्रै सिमित रहेको छ । अहिले बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा अधिबेशनहरुमा भएका निर्बाचनमा राजनीतिक दलका प्रवास स्थित संगठन वा भातृसंस्थाहरुको प्रभाव छरप्रष्ट देखिएको छ। यसमा स्पेनपनि अछुतो रहेन। 

एनआरएनमा राजनीति गर्न हुँदैन बिधानले दिदैंन भनेपनि स्पेनमा अन्तत: काँग्रेस भर्सेस कम्युनिष्टको लडाई देखिएको छ। सन् २०१५- २०१७ को कार्यकाल बाहेक नेपाली जनसम्पर्क समिति निकटले एनआरएनको सबै नेतृत्व गर्दै आएको छ। यसपटकको चुनावी परिणामले राजनीतिक जीतको समेत अर्थ दिने हुँदा सहमति र सहकार्यभन्दा पनि संगठनहरुले चुनावमै ध्यान केन्द्रित गरेका छन्। 

नेपाली जनसम्पर्क समिति र प्रबासी नेपाली एकता मञ्च निकट उम्मेदवारहरुका समर्थकले एकैदिनमा झन्डै १४ सय सदस्यहरुको बिबरण र रकम एकैपटक बुझाएपछि चुनावी माहोल ह्ववातै बढेको थियो। 

अध्यक्षका प्रत्यासीहरु गुरुङ प्रवासी नेपाली एकता मञ्च स्पेन निकट र कोईराला नेपाली जनसम्पर्क समिति स्पेन निकटका उम्मेदवार हुन्। केहि पदहरु बाहेक दुवै संगठनबाट आ-आफ्नै उम्मेदवार छन्। पंजीकृत सदस्यहरुमध्ये झन्डै १० प्रतिशतमात्रले आफैँ शुल्क तिरेर सदस्यता लिएको अनुमान छ। अर्थात् पंजीकृत सदस्यताकालागि पनि संगठन,उम्मेदवार वा उनि निकटहरुको खर्च ठुलो देखिएको छ। 

एनआरएन स्पेनको छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा बार्सिलोनामा हुँदैछ। निर्बाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार क्षेत्रीय कमिटीहरुमा सेप्टेम्बर ८ मा र केन्द्रमा (बार्सिलोनामा) ९ तारिख निर्बाचन हुँदैछ।