एनआरएनए स्पेनको निर्बाचन :- मतगणना प्रक्रिया सुरु


बार्सिलोना। एनआरएनए स्पेनमा मतगणना प्रक्रिया भर्खरै सुरु भएको छ ।नयाँ नेतृत्व चयनका लागि अाईतबार र सोमबार मतदान प्रक्रिया  सम्पन्न भएको थियो।

क्षेत्रिय समिति म्याड्रिडमा २३४ मत ,पाईसभास्कोमा २१८ मत,ग्रानक्यानेरियामा १०० मत र बार्सिलोनाबाट ९२० जनाले  मतदान गरेका थिए । मंगलबार बिहानसम्म सम्पूर्ण  मतपरिणाम अाईसक्ने  निर्बाचन समितिले जनाएको छ।

एनआरएनए स्पेनमा २३९६ जना पंजीकृत सदस्यता भएपछि ईतिहासमै पहिलोपटक स्पेनमा दुई आईसीसी पद लगायत नयाँ  नेतृत्वका चयनका लागि निर्बाचन भएको हो ।  

को-को छन् निर्बाचनको दौडमा ?

एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि दिनेश गुरुङ (देउकाजी) र पेशल कुमार कोईराला चुनावी मैदानमा छन्। गुरुङ संघका पुर्ब महासचिव हुन् भने कोईराला बर्तमान उपाध्यक्ष हुन्। 

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि ३ जना प्रतिस्पर्धीहरु छन्। संघका बर्तमान अध्यक्ष चिन्तामणी सापकोटा,बर्तमान उपाध्यक्ष सुनिल रानाभाट र पूर्व उपाध्यक्ष प्रकाश तिमिल्सिना आईसीसी सदस्य पदका लागि चुनावी मैदानमा छन्। 

खुल्लातर्फको दुई उपाध्यक्ष पदका लागि दिनेशकुमार गिरी,सनु राउत र उत्तर कुमार राई दौडमा छन्।  एक उपाध्यक्ष (क्षेत्र) छुट्टाईएकोमा राम प्रसाद दाहाल र तुलसी बहादुर गुरुङले प्रतिस्पर्धा गरेका छन्। यस्तै महासचिव पदका लागि बिनय अधिकारी र उमराज ढकाल (राज) भिडेका छन्। 

खुल्लातर्फ दुई सचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। भुवन कटुवाल,रबि पुडासैनी,दुर्गा प्रसाद घिमिरे (लेकाली) ,धुब्र भट्ट र मेघनाथ ढकाल चुनावी मैदानमा उत्रिएका छन्। पाईसभास्कोतर्फ क्षेत्रीय सचिव पदको कोटामा राजेन्द्र सेढाई र महानारायण चौधरीको भिडेका छन्। कोषाध्यक्ष पदका लागि शन्त बहादुर क्षेत्री र गोबिन्दप्रसाद तिमिल्सिना र सह-कोषाध्यक्षमा महन्त महर्जन र शान्ता राणा तथा महिला संयोजकमा मौसमी गुरुङ् (समी) र पार्वती वलीबिच प्रतिस्पर्धा छ। 

यस्तै ६ जना सदस्यका लागि ११ जना चुनावी मैदानमा छन्।  आङ् लाक्पा शेर्पा,भुप्रेन्द्रकुमार श्रेष्ठ,सोमप्रसाद गुरुङ,शालिकराम डुम्रे,बिदुर गौतम,लक्ष्मण खत्री,तारानाथ अधिकारी,ईमा सापकोटा भट्ट,शितल खतिवडा,पान बहादुर गुरुङ र हेम बहादुर मल्लको उम्मेदवारी परेको हो। 

अध्यक्षका प्रत्यासीहरु कोईराला नेपाली जनसम्पर्क समिति स्पेन निकट र गुरुङ प्रवासी नेपाली एकता मञ्च स्पेन निकटका उम्मेदवार हुन्। यो निर्बाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ।