बेलायतमा चुनावी माहोल, उत्साहपूर्ण वातावरणमा मतदान


लण्डन।  २०१९-२१ कार्यकालका लागि एनआरएनए युकेको नयां कार्यसमिति चुन्न शनिवार भै रहेको मतदानमा निकै उत्साहको वातावरण देखिएको छ। झन्डै साढे १३ हजार मतदाता सहित एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ।  


भूपू गोर्खा शेर बहादुर सुनार तथा पूर्व उपाध्यक्ष पुनम गुरुङले नेतृत्व गरेका दुइ समूहहरुबीच कडा प्रतिस्पर्द्धा भैरहेको छ।सुनारले आफ्नो समूह समावेशी भएकाले आफुहरुले जित्नेमा ढुक्क भएको जनाएका छन् । गुरुङले चाही आफु महिला भएकाले पनि मतदाताहरुको समर्थन आफुलाई रहने बताएकी छिन्।


मतदानका लागि १३ ओटा मतदान केन्द्रहरु तोकिएकोमा स्कटल्याण्ड मतदान केन्द्रमा भने केही ढिला मतदान शुरु भएको थियो।  केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बिहानै साउथ ह्यारोस्थित मतदान केन्द्रमा गएर मतदान गरे । उनी सो केन्द्रबाट मतदान गर्ने पहिलो मतदाता पनि बने।

उनले एनआरएनको सदस्यता लिएका  युकेस्थित सबै मतदाताहरुलाई समय निकालेर मतदानमा सहभागी हुन र प्रजातान्त्रिक अभ्यासद्वारा एनआरएन संस्थालाई अरु बलियो बनाउन पनि आग्रह पनि गरेका छन् । मतदान हेर्न संघका केन्द्रीय पदाधिकारीहरु पनि बेलायत आईपुगेका छन् ।

भर्खरै नेपालीनेपालीडटकमसंग कुरा गर्दै निर्वाचन कमिटिका सह प्रमुख निर्वाचन आयुक्त तथा प्रवक्ता शिवजी श्रेष्ठले १३ ओटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहका साथ मतदान भै रहेको बताए। उनले स्थानीय समय अनुसार दिउंसो २ बजे सम्ममा ५० प्रतिशत भन्दा बढी मतदान भै सकेको जानकारी पनि दिए।उनले सबै मतपेटिकाहरु प्राप्त भै सके पछि अल्डरशटस्थित एम्पायर हलमा शनिवार राती देखि नै मतगणना शुरु हुने जानकारी पनि दिए।

आफ्नी श्रीमती जमुना घले सहित गएको एक साता देखि बेलायतमै रहेका संघका पूर्व अध्यक्ष शेष घलेले पनि आज केही मतदान केन्द्रमा गइ मतदान प्रक्रियाको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ। निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले निर्वाचनका लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयंसेवक खटाइएको बताए । १ सय भन्दा बढी उम्मेदवार मैदानमा छन् ।

आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनले नयां कार्य समिति चुन्ने भएकाले पनि एनआरएन युकेको चुनावी नतिजाप्रति धेरैको चासो बढेको छ। चुनावमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त तथा कुल आचार्यले केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका छन्  ।