डा.शर्मा एनआरएनए महासचिवको चुनावी मैदानमा,के हुन् सात निर्देशक सिद्वान्तहरु ?


एनआरएनए केन्द्रिय महासचिव पदका उम्मेदवार डा. हेमराज शर्मा

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदमा बेलायतबाट डा. हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । सात निर्देशक सिद्वान्त सहित डा.शर्माले सोमबार महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। 

डा शर्माले सबैको एनआरएनए, सबल र बहुआयामीक एनआरएनए , स्मार्ट एनआरएनए , परिणाममुखी एनआरएनए , दीगो एनआरएनए , सिप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए गरी सात निर्देशक सिद्वान्त बनाई काम गर्ने प्रतिवद्दता जनाएका छन् ।

“ मेरा यी प्रतिबद्दताहरु म एक्लैले गर्न संभव छैन। यी योजनाहरुलाई अनुमोदन गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद समक्ष प्रस्ताव गर्नेछु।” डा. शर्माले आफ्नो उम्मेदवारी घोषणाको क्रममा स्पष्ट पारेका छन्। बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् डा.शर्मा एनआरएनए अभियानमा नछुट्ने नाम हो। डेढ दशक लामो संघको अभियानमा कुनै न कुनै रुपमा उनको भूमिका महत्वपूर्ण रहदै आएको छ। 

डा. शर्मा  बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको अनुभव छ।  सन् १९९७ मा उनले जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरे। सन् १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका थिए। 

ब्यापारी र धनाढ्य एनआरएनहरुले मात्र केन्द्रिय तहमा सधैँ राज गरिरहेको आरोप लागिरहेको बेला उनले काठमाडौँमा हुन गइरहेको संघको अन्तर्राष्ट्रिय महाधिबेशनमा महासचिव पदमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

उनि गैरआवासीय नेपाली संघ जापानको महासचिव, दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता हुँदै विगत तीन कार्यकाल संघको सल्लाहकारमा रही काम गरे। यस्तै उनले विधान समितिको सदस्यबाट शुरु गरेर पछिल्लो तीन कार्यकाल सो समितिको संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । गत बर्ष सम्पन्न एनआरएन प्रथम विश्व विज्ञ सम्मेलनको संयोजन पनि डा शर्माले नै गरेका थिए। 

खास के हुन् डा.शर्माका सात निर्देशक सिद्वान्तहरु-

पहिलो, सबैको एनआरएनए :- अहिले संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध छन् । यसमा पनि महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता अत्यन्त न्यून छ । आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने। 

दोस्रो,सबल र बहुआयामीक एनआरएनए :-गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गरी संघलाई रिब्रान्डिङ गर्ने। 

तेस्रो,स्मार्ट एनआरएनए :– गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने।  

चौथो, परिणाममुखी एनआरएनए :- गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने। 

पाँचौ, दीगो एनआरएनए :– सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने। 

छैठौ,ज्ञान, सिप र नवप्रवर्धनका लागि एनआरएनए :- गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने। 

सातौ, उत्तरदायी र पारदर्शी एनआरएनए :-गैरआवासीय नेपाली संघका पदाधिकारीहरुलाई संघका सदस्यप्रति उत्तरदायी बनाउन वैधानिक व्यवस्था गर्ने। संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाउने साथै आर्थिक पारदर्शिताका कायम गर्ने। 

सचिवालयका लागि वैकल्पिक स्रोतको खोजी:-

सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिने पनि डा शर्माले जनाएका छन् । 

जसअनुसार भिजन–२०२० अनुसार विधानमा व्यवस्था भएको एनआरएनए फाउण्डेसन स्थापना गर्ने, गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका व्यवसायबाट लाभांशको न्युनतम प्रतिशत एनआरएनका लागि छुट्याउनु पर्ने, संसारभरि छरिएर रहेका एनआरएनएका सदस्यहरु समक्ष आफ्नो उत्पादनको विज्ञापन पुर्याउन चाहने व्यवसायिक संस्थाहरुबाट शुल्क लिनजस्ता विषय समेटिएको छ ।

यस्तै गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गर्ने, संघको निर्वाचनलाई मर्यादित र मितव्ययी बनाईने, आर्थिक पारदर्शिताका कायम राख्न सचिवालयमा एक संयन्त्रको स्थापना गर्ने, एनआरएनए र आम गैरआवासीय नेपाली बीच सिधासम्पर्क गर्न विद्युतिय माध्यमबाट ‘एनआरएनएसँग सिधा संवाद’ कार्यक्रम सञ्चालन गर्ने र यस्ता कार्यक्रममा गैरआवासीय नेपालीका चासोका विषय (वैदेशिक रोजगार, मतदानको अधिकार, नागरिकता, सम्पत्तिको अधिकार आदि) बारे पदाधिकारीहरुसँग प्रत्यक्ष संवाद गर्न सकिने शर्माको घोषणापत्रमा उल्लेख छ ।

 संस्थागत संरचनामा परिवर्तन गर्ने:-

शर्माले हाल संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आवद्ध रहेको भन्दै आम गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत संरचनामा परिवर्तन गर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेका छन् ।

यस्तै भिजन २०२० एण्ड बियोडको मर्म अनुरुप युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानवकल्याण, प्राज्ञिक विभाग गरी ६ विभागको गठन गर्ने गरी संस्थागत संरचनामा परिवर्तन गर्ने, दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघ र नेपालसँगको सामीपत्यता कायम गर्न हरेक राष्ट्रिय परिषद्मा एउटा छुट्टै निकायको व्यवस्था गर्ने, वैदेशिक रोजगारीका समस्या र सम्भावानाका बारे श्वेतपत्र तयार गर्ने, प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमार्फत थोरै आम्दानी हुने नेपालीहरुले लगानी गर्न सक्ने वातावरण तयार गर्ने जस्ता विषय डा शर्माको प्रतिवद्धतापत्रमा समेटिएको छ।

गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउने जस्ता विषय पनि शर्माको चुनावी प्रतिवद्धतापत्रमन उल्लेख गरिएको छ । यस्तै गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्ने पनि शर्माले बताएका छन् ।

जसअनुसार संघको दुईवर्षे कार्ययोजना सहभागीमूलक रुपमा निर्धारण गरी कार्यक्रमको क्यालेण्डर तयार गर्ने, परियोजना छनोटसम्बन्धी नीति बनाई पुनरावलोकन र मूल्याङ्कन गर्न विज्ञहरुको समिति बनाउने, हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरुको आयोजना प्रभावकारी र मितव्ययी रुपमा गर्ने, संघले नेपालमा गर्ने गतिविधी र कार्यक्रमहरुलाई काठमाडौं उपत्यका बाहिर बिस्तार गर्ने जस्ता विषय समेटिएका छन्। 

डा. शर्मासँगै महासचिवको दौडमा बर्तमान कार्यसमितिका दुई सचिवहरु जानकी गुरुङ (बेल्जियम), डिबी क्षेत्री (मध्यपूर्व) र अमेरिकाबाट केशव पौडेलले पनि रहेका छन्।