नेतृत्वमा आए भने सचिवालयमा व्यापक हेरफेर गर्छु :- कुमार पन्त


वसन्त रानाभाट,बार्सिलोना। 

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्यासी कुमार पन्तले आँफू नेतृत्वमा पुगेको खण्डमा एनआरएनए सचिवालयमा ब्यापक हेरफेर गर्ने बताएका छन्। झन्डै १५ करोड रुपैयाँ संघले ऋणभार व्यहोरीरहेको चर्चा चलिरहेकै बेला  बर्तमान उपाध्यक्ष समेत रहेका पन्तले यस्तो बताएका हुन्। सचिवालय संचालनका लागि बार्षिक २ करोड रुपैयाँभन्दा बढि खर्च भएको भन्दै केहि गैर आवासीय नेपालीहरुले यसको आलोचना गर्दै आएका थिए। 

नेपालीनेपाली डटकमसँग बिशेष कुराकानी गर्दै पन्तले भने,”सचिवालयलाई रिफर्म गरिनुपर्दछ। यो भन्दा कम खर्चमा अझ बढी प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरालाई नजर लगाइ राखेको छु। यदि म निर्वाचित भएर नेतृत्वमा आए भने मेरो पहिलो काम नै सचिवालयलाई व्यापक हेरफेर गर्छु ।”

उनले  सचिवालयको आर्थिक अवस्थालाई मजबुत बनाएर त्यहाँको खर्चलाई कटौती गर्ने काम पहिलो दिनबाटै सुरु हुने बताएका छन्। एनआरएनए स्पेनको नयाँ कार्यसमितिलाई बधाई दिन सोमबार बार्सिलोना आएको बेला अध्यक्षका दाबेदार ठानिएका पन्तसँग हामीले संघका बिबिध बिषयहरुमा जिज्ञासा राखेका थियौ। प्रस्तुत छ पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :-

तपाईहरु आँफैमा धनी हुनुहुन्छ तर एनआरएनए त चरम आर्थिक संकटमा छ नि। १५ करोड रुपैयाँ ऋण लागेको सुनिन्छ नि। भित्रि कुरा के हो ?

हामी सबैले स्विकार गरेको कुरा हो। हामीसँग भएका कमजोरीहरुलाई टेबलमाथी छलफल गरिनुपर्छ। र यसलाई सुधार गर्नुपर्छ। साथीहरुको बिचमा जादै गर्दा अहिले संस्था आर्थिकरुपले संकटग्रस्त अवस्थामा छ । तर सँगसगै अर्को कुरा के भने झन्डै १२ करोड रुपैयाँ (बक्यौता) उठ्न बाँकी नै छ। यो साथीहरुले प्रतिबद्धता गर्नुभएको रकम हो। त्यसका लागि पनि प्रयास गर्नेछौ। अस्ति मात्र पनि केहि पैसा संस्थालाई नपुगेर मैले नै पकेटबाट दिएको छु। अरु साथीहरुले पनि दिन सुरु गरिरहनु भएको छ। 

तपाईहरुले दिनुभएको रकम ऋण (सापटी) हैन र ? ऋण रकमलाई डोनेसनको रुपमा प्रचार गरेको भन्दै उल्टो आलोचना भयो नि। 

 यसमा आलोचना गर्नुपर्ने कुरा नै छैन। अध्यक्ष ज्यु ले संस्थालाई आर्थिक संकट पर्यो आर्थिक सहयोग उपलब्ध गराईदिनुपर्यो भन्नुभयो। ऋण स्वरुप भनेर सबै पदाधिकारीहरुलाई आग्रह गर्नुभएको हो। मलाइ पनि दुई- तीन पटक भन्नु भयो । उहाँको आग्रहपछि मैले सहयोग उपलब्ध गराएको हुँ। 

अरु साथीहरुले पनि सहयोग गर्नुभएको यो ऋण स्वरुप हो । यो सापटी रकम हो । संस्थाको आफ्नै खातामा रकम नहुन्जेलसम्म अर्थात् आर्थिक रुपले संस्थासम्पन्न नहुञ्जेलसम्म निरब्याजी ऋण उपलब्ध गराएका हौ।डोनेसन गरेको होइन । अहिले तत्काल १२-१५ करोड रुपैयाँ जरूरी छ। साथीहरुले पनि सहयोग गर्ने क्रम जारी छ। 

यस्तो सापटीमा संस्था चलिरहेको बेला नेतृत्व लिने अठोट भयो त ?

संस्था आर्थिक रुपले अलिकति कमजोर हुने वितिकै सबै बरबाद भइहाल्यो भन्न मिल्दैन। समाल्नै नसकिने गरी आर्थिक संकट आएको भन्ने होइन । समस्या भए आर्थिक सहयोग गर्नको निम्ति तयार छौ भनेर धेरै साथीहरु बोलिरहनुभएको छ। एउटा सामाजिक संस्था चल्ने नै यसरी नै हो । आर्थिक रुपले अलिकती माइनस हुदैमा बरवाद भइहाल्यौ भन्ने स्थिती छैन । अर्कोतर्फ त्यति नै पैसा उठ्न बाँकी छ। आँफूले बोलेको प्रतिबद्वता रकम यथाशिघ्र दिनुहुनेछ भन्नेमा म पूर्ण बिश्वस्त छु। 

सचिवालयमा बार्षिक २ करोड भन्दा बढी खर्च हुन्छ भन्ने सुनिन्छ। नियमित र बिभिन्न प्रोजेक्टमा गरी २० भन्दा बढी कर्मचारी। त्यसमाथि एनआरएनको सचिवालयमा पनि मालपोत कार्यालयमा जस्तै बेथिति भयो भन्ने केहि गैर आबासीयहरुले आरोप छ नि। 

सचिवालयलाई अलिकति रिफर्म गर्नुपर्नेछ । मैले पनि सचिवालय यो भन्दा कसरी राम्रो हुन सक्छ। यो भन्दा कम खर्चमा अझ बढी प्रभावकारी काम गर्न सकिन्छ भन्ने कुरालाई नजर लगाइ राखेको छु। यदि म निर्वाचित भएर नेतृत्वमा आए भने पहिलो काम नै सचिवालयलाई व्यापक हेरफेर गर्छु । सचिवालयको आर्थिक अवस्थालाई मजबुत बनाएर त्यहाँको खर्चलाई कटौती गर्ने काम पहिलो दिनबाटै सुरु गर्नेछु। 

सँस्था ऋणमा चलेकै कारणले पनि यसपटक मनोनयन शुल्क दोब्बर राखिएकोजस्तो देखियो। तर एनआरएन अध्यक्ष बन्नकै लागि १० लाख रुपैया मनोनयन दर्तामा बुझाउनुपर्ने यो त अलोकप्रिय निर्णय भएन र ?

यो लोकप्रिय निर्णय होइन। यसलाई आगामी दिनमा सच्याउनु पर्दछ। म आफै यो संस्थामा इभन सदस्य बन्नलाई ५ डलर आइसिसिले लिने गर्छ, त्यो पनि लिनु हुदैन भन्ने पक्षपाती हुँ। आगामी दिनमा पञ्जिकृत सदस्य पनि फ्रि गर्नुपर्छ भन्नेकुराको पक्षपाती हुँ ।

अर्कोतर्फ ८३ वटा राष्ट्रिय समन्यय परिषदहरु छन्। त्यहाँ जाँदाखेरी अध्यक्षले आफ्नै खल्तीको पैसा झिकेर खर्च गर्नुपर्ने अबस्था छ। त्यसकालागि कमसेकम एक लाख डलर चाहिन्छ। तर आगामी दिनमा यसको बिकल्पबारे सोच्नु पर्छ। किनकी यो संस्था श्रमीकहरुले पनि नेतृत्व गर्न सक्ने गरी, साच्चै व्यापारी बाहेकको वर्गले पनि नेतृत्व गर्न सक्ने गरी यो संस्थाको पंजीकृत सदस्यहरु कसरी व्यवस्थित गर्ने ?  कसरी यो संस्थामा पैसा नभएको मानिसहरुलाई नेतृत्वतहमा सहभागी गराउने भन्ने बारेमा प्याकेजमा कार्यक्रमहरु ल्याउन र छलफल गर्न जरुरी देखिन्छ। 

तर १६ बर्ष  बितिसक्यो त। अझै पनि  एनआरएनए परम्परागत ढंगले नै चलिराखेको छ …. 

म गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै यो अभियानमा छु। १६ वर्ष एनआरएनए अभियानले पार गर्दैगर्दा, गैर आवासिय नेपाली संघले केहि ठोस एजेन्डाहरुलाई अगाडी सार्नु पर्ने देखेको छु। जसरी १६ वर्ष अगाडी एउटा स्टक्चर बनाइएको थियो अब त्यसरी नै अहिले संस्था चल्न सक्दैन। यसको रि–स्ट्रक्चर गर्नुपर्ने देखीराखेको छु। हामीले संगठन निर्माणकै क्रममा १६ वर्ष वितायौ । तर अब भटाभट रिजल्ट दिनुपर्ने चुनौती छ। संघको स्थापना हुँदाखेरि गैर आवासीय नेपालीहरुको जुन आर्थिक हैसियत थियो तर आज धेरै परिबर्तन भएको छ। तसर्थ पनि परोपकारी कामहरुको निरन्तरता साथै लगानीमा जोड दिनुपर्छ। 

जति ठुला-ठुला गफ एनआरएनएले गर्दै आएको भएपनि २- ३ हजार प्रतिनिधिहरु नेपाल पुगेर नेतृत्व चुन्ने परिपाटी देखियो। यसलाई पनि सुधार गर्नुपर्ने होईन र ?

हामी ८० लाख गैर आवासीय नेपालीहरु बाहिर बस्दैगर्दा पंजीकृत सदस्यहरु सोचे अनुरुप छैनौ। ७०–८० हजारको हाराहारीमा छौ। नढाटीकन भन्नुपर्दा त्यो मध्ये पनि धेरै सदस्य बनाईएका सदस्यहरु हुन्। अब स्वतस्फुर्तरुपमा ८० लाख नै सदस्यहरु किन नबन्ने ? भन्ने प्रश्नको उत्तर हामीसँग हुनुपर्छ । गैर आवासीय नेपाली संघको सदस्य लिदाखेरी हुने फाइदाको बारेमा १, २, ३ गरेर प्याकेजमा प्रोगाम लिएर आउँछौ। संसारभरी छरिएर रहेका साथीहरुको बिचमा संघलाई लिएर जाँदै गर्दा यसको सदस्य बन्दा हुने दृश्यता क्लियर भैसकेपछि साथिहरुलाई संघमा आवद्ध गराएर आँफु बसेकै ठाउँहरुबाट भोटिङ सिस्टमलाई लागु गराइनेछ।

एनआरएनएलाई सामाजिक सँस्था भन्नुहुन्छ तर हरेक देशका निर्बाचनहरुमा झन्-झन् बढी राजनीतिकरण हुँदै गएको देखिन्छ…

विगत ५- ७ वर्ष यता एनसिसिहरुमा अलि बढी नै राजनीतिकरण भएको कुरा साँचो हो। तर यसलाई न्युनिकरण गर्नुको विकल्प छैन। यसलाई विशुद्ध सामाजिक संस्था बनाएर ८० लाख नेपालीहरुको साझा संस्था बनाउन प्रत्यन्न गरिनुपर्छ।  यस्तो संस्थाभित्र राजनीति हावी हुनु बडो चिन्ताजनक विषय हो । अब राष्ट्रियस्तरका चुनाव हुँदै राजनीतिकरण अलि बढी देखिएको जस्तो भएपनि आइसिसिमा त्यस्तो देखिदैन। 

तर आईसीसीको चुनावमा पनि देखिन्छ नि। तपाई कम्युनिष्ट निकट र अर्का अध्यक्षका प्रत्यासी कुल आचार्य काँग्रेस निकटको रुपमा चिनिनु भएकै छ त ?

हैन यो आरोपलाई म मिथ्या आरोप भन्छु। म गैर आवासीय नेपाली संघको अभियानमा लागेको २००४ साल देखि नै हो।  कहिल्यैपनि राजनीतिक पार्टीको झण्डा बोकेर यहाँ आइपुगेको हैन। ग्रासरुट क्षेत्रीय कमिटि भन्छौ। क्षेत्रीय कमिटिको सदस्य हुदै अभियानमा जोडिएको हुँ। राष्ट्रिय समन्वय समितिको सदस्य, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रको संयोजक,महासचिव र दूई–दूई पटक उपाध्यक्ष भैसकेको म कहिल्यैपनि पार्टीको झण्डा बोकेर हिडेको छैन। के कुरामा म प्रतिबद्ध छु भने यो संस्थाले गैर राजनीतिक संस्थाको रुपमा स्थापित गर्नुपर्छ। र जोगाउनुपर्छ। राजनीति यसमा हाबी हुन दिनु हुदैन भन्ने पक्षको पक्षपाती हुँ। कहिल्यैपनि यहाँसम्म आउँदा मैले पार्टीको झण्डा बोकेर आएको होइन ।

तर नेतृत्व लिनुअघि पार्टीका शिर्ष नेताहरुसँग भेट्ने। उनिहरुले अघि बढ भनेमात्र चुनावमा जाने परिपाटी त देखिएकै छ त,त्यसो भए के -का लागि नेताहरुको ढोका धाउनुपर्ने ?

स्वभाविक रुपले हामीले नेपालका विभिन्न राजनीतिक पार्टीहरुसँग सहकार्य गर्ने, नेपालको राज्यसँग सहकार्य गर्ने, नेपालको जनतासँग सहकार्य गर्दै आएका छौ। किनकी यो एउटा सामाजिक संस्था हो ।जब चुनाबी प्रक्रिया सुरु भइसकेपछि म व्यक्त्तिगत रुपमा कुनै नेताहरुलाई पनि भेट्दिन। गैर आवासिय नेपाली सघको एजेण्डाबारे सामुहिक भेटघाट हुने अलग कुरा हो। तर त्यो बाहेक व्यक्त्तिगत रुपमा तपाइले मलाई सहयोग गरिदिनु पर्यो। पार्टीको सहयोग मलाई चाहियो भनेर म कुनै नेताको ढोकामा पुगेको पनि छैन। म जाँदा पनि जान्न। म त्यसो गर्दा पनि गर्दिन । तर मैले देखेको एउटा कुरा के-छ भने आफैमा राजनीतिक पार्टीका नेताहरुको चुनावबारे रुचि छैन। तर केहि  गैर आवासिय नेपाली साथीहरुले नै विगारिदिएका छौ । हामी नै जान्छौ र भन्छौ तपाईले फलानोलाई भनिदिनु पर्यो। साथीहरुलाई कन्भिन्स गराईदिनुपर्यो। यो प्रवृत्ति चाहिँ गलत भएको छ। यसलाई सुधार गर्नुपर्छ। 

अब अलिकति चुनावी कुराकानी पनि गरौ। बर्तमान दुई उपाध्यक्षहरु अहिले चुनावी मैदानमा हुनुहुन्छ। अब सहमतिको सम्भावना छैन भन्ने सुनिन्छ नि। 

भोट हाल्न लाइनमा बसेर १२, १५ भोट खसिसकेपछि पनि सहमति भएको हामीसँग इतिहास साक्षी छ । सहमतिका कुराहरु त अब सुरु हुन्छन् । यति ठुलो संस्थामा इच्छा जाहेर गर्ने कुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ । कुल जि व्यक्त्तिगत रुपमा पनि मेरो नजिकको मित्र हुनुहुन्छ। लामो समयदेखि हामीहरुले सहकार्य गर्दै आएका छौ। संस्थामा पनि सँगै छौ ।

विधानले उहाँलाई फेरी अर्कोपटक उपाध्यक्ष हुन बाटो खुल्ला गरेकै छ। म पनि दुईपटकसम्म उपाध्यक्ष बने। हामी पटक पटक छलफल कुराकानी पनि गरेका छौ। धेरैपटक पुन: उपाध्यक्षमा दोर्याउन मैले अनुरोध गरेको छु। तपाई भविष्यमा साथीहरुबिच इच्छा जाहेर गर्न सक्नुहुन्छ अहिले मलाई सहयोग गर्नुहोस् भनेर मैले उहाँलाई भनिसकेको छु। हामीसँग अझ एक महिना बाँकी छ। अहिले नै चुनावी मैदानमा आइहाल्यो भन्ने कुरा होइन । सहकार्यका कुरा पनि भइरहेका छन्। सहमतिका कुरा पनि भइरहेका छन्। मलाई लाग्छ हामी कुनै विन्दुमा पुगेर सहमतीनै गर्छौ । सहमतिकै नेतृत्व चयन हुन्छ भन्ने कुरामा अझैपनि म विश्वस्त छु ।

तर तपाईले त्यसो भनीरहदा भित्रभित्रै आ-आफ्नो तर्फबाट गोप्य समूह बनाएर अघि बढिसक्नु भएको त छ नि। 

तपाइले टिमको कुरा उठाइहाल्नु भयो। निश्चित रुपमा कुनै एउटा साथी आइदियो भने काम गर्न सजिलो हुन्थ्यो होला भनेर इच्छा जाहेर गर्ने कुरा स्वभाविक हो । तर यो -यो साथी फलानो चाहि मेरो टिमभित्रको हो। यसलाई भोट हाल्नुहोस् भन्दै म चुनाबमा जाने पक्षमा छैन। विधानले पनि त्यसो गर्न हामीलाई छुट दिदैंन। टिम बनाएर जाने कुराको म व्यक्त्तिगत रुपमा विरोधी पनि हुँ। तर केहि साथीहरु आउँदाखेरी मलाई सहज हुन्थ्यो होला भनेर ईच्छा राक्नु वा आन्तरिक रुपमा मनभित्रको चाहना राख्नु अर्कै कुरा हो। तर सार्वजनिक रुपमा त्यसलाई प्रकट गर्ने काम म गर्दिन । 

अन्त्यमा,भिजन २०२० को प्रश्न सधै उठ्छ। तर बोलीमा मात्रै सिमित छ। यदी तपाई नेतृत्वमा पुग्नुभयो भने के गर्नुहुन्छ ?

भिजन २०२० मा एनआरएन अबको दिनमा कहाँ जानुपर्छ भनेर स्पष्ट व्याख्या गरिएको छ । हामिले सिकेको ज्ञान सिप श्रम र पुजी नेपालमा कसरी प्रभावकारी ढंगले लिएर जाने त्यसमा एउटा पोलिसि इन्स्टिच्युट बनाएर यसमार्फत लिएर जाने भन्ने कुराको व्यवस्था त्यहाँ गरिएको छ । जुन हामीले दोस्रो पुस्ताका गैर आवासीय नेपालीहरुको कुरा गरिराखेका छौ। हाम्रो जेनेरेसन बुढो हुँदै जाँदा दोस्रो पुस्ताका युवाहरुलाई कसरी संस्थामा सहभागी गराउने, अझ बढी व्यापकता दिने भन्ने बारेमा स्पष्ट व्याख्या गरिएको छ । महिलाहरु सहभागिता अति नै न्यून छ। यसलाई पनि कसरी कसरी बढाउने भन्नेबारे यसमा उल्लेख गरिएको छ । गैर आवासिय नेपाली साथीहरुले आर्जन गरेको पुजीलाई नेपालमा कसरी लिएर जाने भन्ने बारेमा बडो स्पष्टसँग उल्लेख गरिएको छ । भिजन २०२० भनेको आगामी दिनमा गैर आवासीय नेपाली संघले गर्नुपर्ने कामको एउटा दस्तावेज हो। त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने र गराउने पक्षमा म आफु प्रतिबद्ध रहेको छु ।