एनआरएनए युरोप उप-संयोजकमा गुरुङले उम्मेदवारी दिने


बार्सिलोना । गैर आबासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय उप-संयोजक पदमा स्पेनका मुक्त बहादुर गुरुङले उम्मेदवारी दिने भएका छन्। एनआरएनए स्पेनको नेतृत्व सम्हालीसकेका गुरुङले संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको उप-संयोजक पदमा उम्मेदवारी दिने भएका हुन्। 

गुरुङले २०१७ -२०१९ कार्यकालमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा रही काम गरे।एक दशकभन्दा लामो समयदेखि एनआरएन अभियानमा आँफू प्रत्यक्ष संलग्न रहेको बताउदै गुरुङले युरोप क्षेत्रका लागि आफ्नो दावी स्वभाबिक रहेको बताएका छन्।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भने,”युरोप क्षेत्रमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी राष्ट्र हो। यसको नेतृत्व लिईसकेको अनुभव र आईसीसी सदस्यमा रही काम गरेपछि अव युरोप उपसंयोजकमा रही काम गर्ने ईच्छा आउनु स्वभाविक हो। त्यसमा पनि थुप्रै अग्रजहरुको सर-सल्लाहपछि नै मैले अघि बढ्ने निर्णय गरेको हुँ।”

सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनि २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै उपाध्यक्ष पदमा रही काम गरे। सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिकामा रहेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का बिभिन्न कार्यदलमा रही काम गरेको अनुभव पनि छ। 

एनआरएनए स्पेनको नेतृत्व सम्हालेपछि गुरुङले संघको आफ्नै कार्यकाल स्थापना गर्न सफल भएका थिए। उनकै नेतृत्व र पहलमा बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्ष देखि निरन्तर संचालनमा रहदै आएको छ। झोलामा सिमित एनआरएनलाई अफिसमा परिणत गर्न संघका पूर्व केन्द्रिय अध्यक्ष डा.शेष घले,बर्तमान अध्यक्ष भवन भट्ट लगायतका एनआरएन अभियन्ताहरुले समेत उनको अभियानलाई साथ दिएका थिए। 

गुरुङले एनआरएनको नेतृत्व सम्हालेकै बेला नेपाल सरकारले स्पेनमा नेपाली दूताबास स्थापना गरेको थियो। “बिगत एक दशक देखि यहाँ स्थित नेपालीहरुले बिभिन्न समस्याहरु झेल्नु परेको भन्दै दूताबास स्थापनाको माग गर्दै आएका थियौ। गैर आबासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघ सस्था तथा पत्रकारहरुले दूताबासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थियौ । संयोगवश संघको नेतृत्व मैले नै सम्हाल्दैगर्दा बर्षौदेखिको मेहनत खुशीमा परिणत भएको थियो” उनले भने। 

स्पेनबाट प्रचुर पर्यटनको सम्भावना भएपनि दूताबासको सहकार्यमा अपेक्षाकृत प्रर्वद्वनका कार्यक्रमहरु हुन नसकेको भन्दै त्यसका लागि पनि आफ्नो उम्मेदवारी रहेको गुरुङले बताए। उनले भने,” एनआरएनए र दूताबास मिलेर आर्थिक कुटनीतिका अरु थुप्रै कार्यक्रमहरुमा जोडिन सक्छौ। भ्रमण बर्ष २०२० लाई सफल पार्न र समृद्ध नेपालका लागि हातेमालो गर्न युरोप क्षेत्रको नेतृत्वमा रही काम गर्ने मेरो लक्ष्य हो।”

एनआरएन स्पेनको नयाँ कार्यसमितिलाई मंगलबार बार्सिलोनामा नेतृत्व हस्तान्तरणको कार्यक्रममा बोल्दै गुरुङले उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गरेका हुन्। स्पेनबासी गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै उनले भने,” संयोगले आज मेरो जन्मदिन पनि,जीवनको नयाँ सुरुवात मात्र होईन सामाजिक क्षेत्रमा पनि नयाँ सुरुवात गर्ने संकल्प लिएको छु। यहाँहरुको साथ र समर्थनको खाँचो रहेको छ।