१० बुँदे कार्ययोजनासहित एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा


लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

भूतपूर्व गोर्खा सैनिक हरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा आगामी कार्यकालका लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए।

विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरुमा पुगेर राय तथा सुझाव लिए पछि आचार्यले संघको आगामी नेतृत्वका लागि  उम्मेदवारी घोषणा गरेका हुन्।

 ‘ एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा  उम्मेदवारी दिने निर्णय गरेको छु,’ आचार्यले भने । ‘विगतमा झैं यो अभियानलाई सवै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्तछु।’

उम्मेदवारी  घोषणासभामा आचार्यले एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउन भिजनरी नेतृत्व आवश्यक भएको बताउँदै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प समेत गरेका छन्।उनले आफ्नो उम्मेद्धारी घोषणा गर्दै १० बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा संसारभर फैलिएका गैरआवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन ठोस कार्ययोजना सहित अघि बढने बताएका छन्।

त्यसैगरी वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाएर देश निर्माणको आधार बनाउन आगामी दुई बर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोव्वर गर्ने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएनए हटलाइनको व्यवस्था गर्ने, एनआरएन सीप विकास केन्द्रको स्थापना गर्ने, विदेशमा काम गरेर फर्किएका नेपालीहरुको सन्जाल बनाई उनीहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने समेत प्रतिवद्धता गरे।

उनले एनआरएनएलाई  सबै सदस्यहरुको सहकार्यका आधारमा एउटा सशक्त र गतिशील संस्था बनाउन आफुले उम्मेदवारी  दिएको बताए। उम्मेदवारी घोषणासभामा आचार्यले संसदीय प्रकृयामा रहेको विधेयकलाई संविधान र एनआरएनएको भावना अनुरुप निकर्षमा पु-याउन निर्णायक पहल गर्ने बताए।

उनले नागरिकता प्राप्तीको प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने बताएका छन्। 

‘नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रष्ट खुलाउन पहल गर्नेछु,’ आचार्यले भने । ‘समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीहरुलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ, हाल बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्नेछु।’

अध्यक्षका दावेदार आचार्यले गैरआवासीय नेपाली लगानीकर्ताहरुबाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताए। उनले बढी भन्दा बढी मुलुकहरुसंग दवीपक्षीय लगानी प्रवर्द्र्धन तथा परियोजना सहमति एवं दोहोरो  कर मुक्ती सम्झौताहरु गर्न नेपाल सरकारसंग संस्थागत पहल गर्ने समेत प्रतिवद्धता गरे। त्यसै गरि नेपालका सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतीको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने बताए। 

नयाँ समिति निर्वाचित भएको एक महिना भित्र गत मार्चमा काठमाडौंमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारवीच दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न सहमतिपत्रमा हस्ताक्षर भएबमोजिम संयन्त्र बनाएर काम गर्ने उनले बताए।

परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउन संघको तर्फबाट भूमिका निर्वाह गर्ने साथै गत बर्ष आयोजित विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्ने समेत उनले कार्ययोजना सार्वजनिक गरेका छन्। संघ अन्तर्गत गत बर्ष स्थापना भएको नेपाल पलिसी इन्टिच्युटलाई स्रोतसाधन सम्पन्न बनाई सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सहकार्य गरि थप प्रभावकारी बनाउने र एनआरएनए एकेडेमि स्थापना गर्न पहल गर्ने समेत आचार्यले बताए।

संघका पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड वियोण्ड अवधारणालाई चरणवद्ध कार्यान्वयन गर्ने प्रतिवद्धता समेत आचार्यले व्यक्त गरेका छन्। त्यसैगरि आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पु-याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएन एफाउण्डेसन मार्फत गर्ने व्यवस्था मिलाउने उनले बताए। 

‘एनसीसी तथा आइसीसीमा नेतृत्व चुन्न अनलाईन भोटिङ्ग प्रणाली सुरु गर्ने व्यवस्थाकालागि लाग्नेछु,’ उनले भनेका छन् ‘विदेशमा हुर्किरहेका दोश्रो पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता, र संस्कृतिसंग जोडनु मेरो उच्च प्राथमिकता हुनेछ।’

संस्थागतरुपमै नेतृत्व तहमा महिलालाई पुर्याउँन एनसीसीहरुमा अनिवार्यरुपमा एकजना महिला उपाध्यक्ष हुने नियम बनाउन पहल गर्ने आचार्यको घोषणापत्रमा उल्लेख छ। दोश्रो पुस्तालाई नेपालसँग जोडन विदेशमा हुर्किएका किशोरकिशोरीलाई नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ बर्षमुनिका युवाहरुलाई सम्मान गरि एनआरएनए अभियानसंग आवद्ध गर्ने समेत प्रतिवद्धता जनाइएको छ।त्यसैगरि सडक सुरक्षाका विषयमा सरकारसंग सहकार्य गर्ने,  “भाषा जोगाऔं, जोगाऔं संस्कृति” भन्ने मूल सन्देशसहित नेपालीभाषाको प्रवद्र्धनका लागि प्रतिष्ठित विश्वविद्यालयहरुसंग सहकार्य गर्ने, विदेशमा हुर्किरहेका दोश्रो पुस्ताका नेपालीहरुलाई भाषाप्रति रुचि जगाउन “घर भित्रै बोलौं नेपाली अभियान” सन्चालन गर्ने लगायतका कार्यक्रम समेत उनले सार्वजनिक गरेका छन्।

आचार्यले सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सवै एनसीसीहरुलाई प्रोत्साहित गर्ने, संघकोतर्फबाट हरेक मुलुकमा सम्वन्धित एनसीसीको अध्यक्षलाई नै पर्यटनदूत घोषणा गरि नेपाल सरकार र पर्यटन बोर्डसंग समन्वय गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याउन जोड दिने बताएका छन्।

उनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आगामी एक बर्ष भित्र केन्द्रियस्तरमा प्रतिष्ठित “एनआरएनए भाषा, साहित्य पुरस्कार कोष” स्थापना गर्न पहल गर्ने समेत बताएका छन्।

घोषणासभामा आचार्यले संस्थापक, पूर्वअध्यक्षहरु एवं विभिन्न देशमा पुगेर एनआरएनए अभियन्ता, सदस्य एवं पदाधिकारीहरुको सल्लाहमा अध्यक्षमा उम्मेद्वारी दिने निष्कर्षमा पुगेको बताए। आफुले एनआरएनलाई नयाँ शिरा बाट अगाडी बढाउने बताउँदै अव दुई बर्ष भित्र सम्पूर्ण गैरआवासीय नेपालीहरुको अपनत्व महसुस हुने किसिमको साझा चौतारीको रुपमा संघको विकास गरिने बताए।