एनआरएनएको चुनावी भिडन्त : १२ पदमा ४२ जना चुनिने


काठमाडौं । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा हुँदैछ ।

संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमार्फत चयन हुने पद र संख्या

संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित हुनेछन् ।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् ।

त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् ।

प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

निर्वाचन एकै दिनमा सकिने

काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।

एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन् । संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए ।

गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो ।