एनआरएनए चुनाव:- उपाध्यक्षमा को- को भिड्दै ?


बसन्त रानाभाट।बार्सिलोना 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल १२ पदका लागि ४२ जनाको निर्वाचन हुने भएको छ । महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंमा हुँदैछ । अध्यक्षमा कुल आचार्य र कुमार पन्तवीच द्वीपक्षीय प्रतिस्पर्धा हुने यसपटकको महाधिवेशनमा रोचक भिडन्त चाहिँ ५ उपाध्यक्ष पदका लागि हुने देखिएको छ ।

गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक पाँचजना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो । चार खुल्लातर्फको उपाध्यक्ष पदका लागि १२ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

डा. बद्री केसी (रुस)

दुईपटक केन्द्रीय महासचिवमा निर्बाचित भएका डा. बद्री केसी रसिया निवासी व्यवसायी हुन् । यसपटक केन्द्रीय उपाध्यक्ष पदका लागि उनले उम्मेदवारी घोषणा गरेका छन् ।

डा. केसीलाई कतिपयले निडर र हक्की स्वभावका ठान्छन् भने कतिपयले उनको स्वभावका कारण संस्थामा पटक–पटक विवाद सिर्जना भएको आरोप लगाउँछन् ।

ठूला एनसीसीहरुको राष्ट्रिय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा डा. केसीले आफ्नो समूह अनुकुल प्रभाव पार्दै आएको कतिपय एनआरएन प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

अब उपाध्यक्षमा विजयी भएमा डा. केसी दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए अध्यक्षका प्रमुख दावेदारका रुपमा उत्रने निश्चित छ ।

कुमार पन्त समूहका बलिया उम्मेदवार केसी राजनीतिक आस्थाले नेकपा निकट मानिन्छन् ।

सोनाम लामा (अमेरिका)

उत्तर–दक्षिण अमेरिका क्षेत्रका पूर्वक्षेत्रीय संयोजक सोनाम लामा पनि उपाध्यक्षका बलिया दाबेदार हुन् । लामा शेष घलेका विश्वास पात्रका रुपमा चिर परिचित छन् । उनलाई यसपटक बिजयी गराउन पन्त समूहसँग रोमको युरोपेली बैठकमा घलेले छलफल गरेको चर्चा चलेको थियो ।

गत अधिवेशनमा सोनाम उपाध्यक्ष पदमा उठेर पराजित भएका थिए । एनआरएनए भवन सहयोगार्थ तथा भूकम्प पिडितका लागि संघको अभियानमा उनले अमेरिका क्षेत्रबाट करौडौं रकम संकलन गर्न सहयोग पु¥याएका थिए ।

त्यसैगरी भिजन २०२० एण्ड वियोण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा लामाले जोड दिँदै आएका छन् । व्यवसायीको छवि बनाएका सोनाम विशेष गरी आदिवासी जनजाति माझ लोकप्रिय मानिन्छन् ।

रबिना थापा (अमेरिका)

हाल अमेरिकालाई कर्मथलो बनाएकी रबिना थापा गत अधिवेशनमा पनि उपाध्यक्षकी प्रत्यासी थिइन् । तर, पराजित बनिन् । उनी यसपटक कुल आचार्य समूहबाट फेरि उपाध्यक्षमा चुनाव लड्दैछिन् ।

रविनालाई महिला उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गर्न आचार्य समूहले जोड गरिरहेको छ । तर, उनको ईच्छा खुल्लातर्फ नै छ ।

आरक्षण कोटाबाट प्रतिस्पर्धा नगर्ने रविनाको दृढताका कारण सो समूहलाई अप्ठ्यारो परेको बुझिएको छ । थापा एनआरएनए अमेरिकाको २०१५÷२०१७ कार्यकालकी निर्वाचित उपाध्यक्ष हुन् ।

डा. केशव पौडेल (अमेरिका)

महासचिवका लागि उम्मेदवारी घोषणा गरेको भोलिपल्ट नै अमेरिकाका डा. केशव पौडेलले आफ्नो निर्णय परिवर्तन गरे । कुल आचार्य समूहमा रहेका पौडेलले अन्ततः उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएका छन् । उनले आचार्य समूहबाट महासचिवमा जानकी गुरुङलाई बाटो खुल्ला गरिदिएका छन् ।

यसअघि २ कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको अध्यक्ष भइसकेका डा. पौडेलले अध्यक्षका योजनालाई कार्यसमितिको सामूहिक सहभागितामा कार्यान्वयन गर्न भूमिका खेल्ने जनाएका छन् ।

सचिवालयको व्यवस्थापन र सुदृढीकरण गर्ने, संथागत विकास र सदस्यता वृद्धि, समन्वयात्मक सम्बन्धको निर्माण, सञ्चार र अन्तरक्रिया, सम्भावनाको खोजी र अवसरको सिर्जना गर्ने प्रतिवद्धता डा. पौडेलको छ ।

नरेन्द्र भाट (कतार)

चुनाव जित्न मध्यपूर्वको नारा लगाउने तर मध्यपूर्वकै उम्मेदवारलाई छेकबार लगाउने एनआरएनको परम्पराजस्तै बनेको छ । यसका ज्वलन्त उदाहरण हुन् नरेन्द्र भाट । उनी सन् २०१३/०१५ मै उपाध्यक्षका प्रत्यासी बनेका थिए । तर, अघि बढ्ने मौका पाएनन् ।

यसपटक ५ उपाध्यक्ष (महिलासहित) विधानतः व्यवस्था रहेकाले भाट पुनः मैदानमा उत्रिएका छन् ।

एनआरएनए कतारको अध्यक्षदेखि मध्यपूर्वको क्षेत्रीय संयोजकसम्मको अनुभव भाटले बटुलिसकेका छन् । उनी आचार्य समूहबाट चुनाव लड्दै छन् ।

हिक्मत थापा (नाइजेरिया)

अफ्रिकाबाट प्रतिनिधित्व गर्ने एनआरएनको केन्द्रीय तहका नेता हुन् हिम्मत थापा । उनले २ पटक कोषाध्यक्ष पदमा रही काम गरेका छन् ।

थापाले शेष घलेको २०१५/२०१७ कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । विभिन्न परियोजनाहरुका लागि झन्डै १ अरब रुपैयाँ संकलन हुँदा थापा आफ्नो भूमिकामा सफल देखिए ।

तर, सन् २०१७/२०१९ मा भवन भट्टको कार्यकाल ठ्याकै उल्टो भयो । अहिले संस्थामा झन्डै १५ करोड रुपैयाँ ऋण लाग्दा थापा सोही पदमा छन् ।

पदाधिकारीहरुसँग ऋण सापटी मागेर अहिले एनआरएनए चलिरहेको छ । थापाकै कार्यकालमा करिव १२ करोड रुपैयाँ बक्यौता रकमसमेत उठ्न बाँकी छ ।

उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थापालाई पन्त समूहको समर्थन रहेको छ । अफ्रिकाको प्रतिनिधित्व र सरल स्वभावका थापा पूर्वअध्यक्षहरुको पनि रोजाइमा देखिन्छन् ।

अर्जुनकुमार श्रेष्ठ (बेल्जियम)

बेल्जियम निवासी व्यवसायी अर्जुनकुमार श्रेष्ठ एनआरएनए अभियानमा एक परिचित नाम हुन् । विगत एक दशकदेखि एनआरएनए अभियानमा सक्रिय उनी आईसीसी सदस्य, युरोप संयोजक हुँदै केन्द्रीय सचिव पदको जिम्मेवारीमा रहे । उनी युरोप संयोजक रहँदा बार्सिलोनामा सम्पन्न युरोपेली सम्मेलनबाट नै शंखमूल पार्क निर्माणको घोषणा भएको थियो ।

आठौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा श्रेष्ठ महासचिव पदका प्रत्यासी थिए । भवन भट्ट समूहबाट डा. बद्री केसी र जमुना गुरुङ समूहबाट त्रिलोक गुरुङ महासचिव पदमा उम्मेदवार हुँदा पनि श्रेष्ठ चुनावी मैदानबाट पछाडि हटेनन् । हाल उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ पन्त समूहका मानिन्छन् ।

मन केसी (अष्ट्रेलिया)

एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष हुन् मन केसी । उनी विगत २३ वर्षदेखि अस्ट्रेलियामा छन् । शेष घलेले सन् २०१३÷२०१५ मा पहिलो कार्यकाल सम्हाल्दा केसी संघको प्रवक्तामा मनोनित भएका थिए । हाल उनी कुल आचार्य समूहबाट उपाध्यक्षमा चुनाव लड्दै छन् ।

यसअघि अष्ट्रेलियाको एक कार्यक्रममा पूर्वअध्यक्ष घलेले सार्वजनिक रुपमै केसीलाई समर्थन गर्ने वचन दिएका थिए ।

आचार्य टिमका प्रमुख खम्बाका रुपमा केसीलाई हेरिएको छ । केही मुलुकहरुमा आचार्य र केसी मिलेर चुनावी रणनीति बनाएका थिए । केसीकै कारण अष्ट्रेलियाबाट राम्रो मत प्राप्त हुने विश्वास आचार्य समूहले लिएको छ ।

अन्य दाबेदार

खुल्लातर्फको उपाध्यक्ष पदमा लागि अन्य उम्मेदवारहरुको पनि लामै सुची छ । धर्मराज अधिकारी (अष्ट्रेलिया), त्रिलोक गुरुङ (हङकङ), किरणविक्रम थापा (जापान) र थर्क सेन (बेलायत) ले पनि खुल्लातर्फबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

तर, बुधबारसम्म आफ्नो प्रतिवद्वताबाट पछि हटेर कसले मैदान खाली गर्लान्, त्यो भने हेर्न बाँकी छ ।

महिला उपाध्यक्षको चर्चा कम

यसपटकको अधिवेशनमा महिला उपाध्यक्ष पदका आकांक्षीहरु खासै खुलिसकेका छैनन् । त्यसैका कारण चर्चा लगभग शून्यजस्तै छ ।

यसअघि महिला उपाध्यक्षमा अष्ट्रेलियाबाट रञ्जु वाग्ले थापाले उम्मेदवारी घोषणा गरेकी थिइन् । तर, पछि पारिवारिक कारण देखाउँदै उनले चुनाव नलड्ने बताइन् । वाग्ले गत अधिवेशनमा महिला उपाध्यक्षमा सपिला राजभण्डारीसँग पराजित बनेकी थिइन् ।

यसपटक राजभण्डारीले पुनः दोहोर्‍याउने/नदोहोर्‍याउने केही पत्तो छैन । स्रोतका अनुसार राजभण्डारीले पुनः महिला उपाध्यक्षमा नै उम्मेदवारी दिने मनस्थिति बनाएकी छन् ।

उता खुल्लातर्फ उपाध्यक्षमा दाबी गरिरहेकी रबिना थापाले पनि महिला उपाध्यक्षमा चुनाव लड्ने सम्भावना जीवितै छ ।-onlinekhabar.com