कास्की २ काे उपनिर्वाचनमा साझाको उम्मेदवार रजनी केसी


पोखरा – कास्कीमा हुने उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार घोषणा गर्दै साझा पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ । कुनै विवाद बिना केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर साझाले रजनीलाई उम्मेदवारको रुपमा अगाडि ल्याएको हो ।

कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी घोषणा गर्ने साझा पहिलो पार्टी हो । ठूला भनिएका नेकपा र काँग्रेसमा उम्मेदवारीका लागि खिचातानी भैरहँदा आफूहरुबीच त्यस्तो कुनै वैमनस्यता नरहेको र सर्वसम्मत रुपमा रजनीलाई उम्मेदवार बनाउने निर्णय भएको सन्देश पनि साझाले दिएको छ । पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले पत्रकार सम्मेलनमार्फत रजनीलाई उम्मेदवार घोषणा गर्ने पार्टीको निर्णय सुनाएका थिए ।

पार्टीका केन्द्रीय सँयोजक, प्रवक्तासहित, गण्डकी प्रदेश सँयोजक र केन्द्रीय सदस्यहरुको उपस्थितीमा भएको पत्रकार सम्मेलनमा साझाले चुनाव जित्नका लागि पार्टीको एजेण्डा नै काफि भएको तर्क पेश ग¥यो । ‘एकातिर सत्तापक्षप्रति देखिएको निराशा र प्रमुख प्रतिपक्षी दलको निकम्मापना । यी दुई कुरालाई गम्भिर रुपले लिने मतदाताको विकल्प हौँ हामी ।’ पत्रकार सम्मेलनमा साझा पार्टीका सँयोजक रवीन्द्र मिश्रले भने–‘यो वैकल्पिक शक्ति र पुराना शक्तिबीचको जनमतसंग्रह पनि हो ।’

साझाको तर्फबाट कास्की क्षेत्र नम्बर २ को प्रतिनीधि सभा सदस्यको उम्मेदवार घोषित भैसकेपछि रजनी केसीले व्यवस्था सुधारका लागि आफू वैकल्पिक राजनीतिमा लागेको बताईन् । र, त्यही व्यवस्था परिवर्तका लागि आफ्नो उम्मेदवारी रहेको उनले दाबी गरिन् । उनले भनिन्–‘म सानै देखि परिवर्तनको पक्षमा लागेको मान्छे हुँ । बिगतमा जुन पार्टीमा थिएँ, त्यहाँबाट मैले धेरै अनुभव हासिल गरेपनि त्यही परीपाटीबाट परिर्वतन सम्भव नदेखेकोले साझा पार्टी रोजेकी हुँ । र, पार्टीले मलाई विश्वास गरेर कुनै बार्गेनिङ बिना नै उम्मेदवारको रुपमा मलाई प्रस्तुत गरेको हो । चुनावमा अवश्यक नै हामीलाई जनताले साथ दिनेछन् ।’

रजनी यसअघि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिईन् । भदौमा उनी एक विशेष समारोहका बीच साझा पार्टीको सदस्यता लिएकी थिईन् । साझा पार्टीमा पुर्णकालिन रुपमा राजनीति गर्ने भनेरै उनले पोखरा विश्वविद्यालयको जागिरबाट राजिनामा दिएकी थिईन् ।