युरोपमा तिहार:-देउसी रे भन देउसी रे !


नेपाली पाठशाला बार्सिलोनाको सामूहिक देउसी-भैलो कार्यक्रम

बार्सिलोना। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला परदेश पनि अछुतो छैन। दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु सहित युरोपका बिभिन्न देशहरुमा देउसी- भैलो कार्यक्रमहरु हुँदा तिहारको रन्कोले यता पनि छोएको हो। 

परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकुल जमघट तथा रमाइलो गर्दै यतिबेला तिहार मनाईरहेका छन्। युरोपका बिभिन्न मुलुकहरुमा नेपाली परम्परा अनुसार नै देउसी-भैलोका कार्यक्रमहरु भईरहेका छन्। 

नेपाली पाठशाला बार्सिलोनाको सामूहिक देउसी-भैलो कार्यक्रम 

स्पेनमा नेपाली पाठशाला बार्सिलोनाले हरेक बर्षजस्तै यसपटक पनि सामूहिक देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ। खुल्ला ठाउँमा “शुभ- दिपावली” लेखिएका अक्षरहरु र देउसी- भैलो भाकाले सबैको ध्यान केन्द्रित गरेको देखिन्थ्यो। आईतबार बार्सिलोनामा दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुसहित स्थानीय कलाकार र अभिभावकहरु देउसी-भैलोमा रमाए। 

नेपाली पाठशाला बार्सिलोनाको सामूहिक देउसी-भैलो कार्यक्रम 

बिदेशमा पनि आफ्नो संस्कृतिको जगेर्नाका लागि यस्ता गतिबिधिहरुलाई निरन्तरता दिन जरुरी रहेको पाठशाला संयोजक सरला सापकोटा बताउँछिन्। “एनआरएनए स्पेनले आफ्नै भवन निर्माणको उदेश्य अघि सारेको छ। हामी देउसी-भैलोबाट संकलित रकम हस्तान्तरण गर्दै सो अभियानमा ईटा थप्ने कोशिस गर्दैछौ।” उनले भनिन्। 

फ्रान्सको पेरिसमा पनि “देउसी-भैलोको उद्देश्य,नेपाली घरको भविष्य” भन्दै तिहारको रन्कोले छोएको छ। एनआरएनए फ्रान्सले राजदूताबासदेखि स्थानीय ब्यबसायी,समाजसेबीहरुको घर- घरमा नै पुगेर देउसी-भैलो कार्यक्रम गरेको हो। 

सम्भवत:-स्विट्जरल्याण्डको ईतिहासमा नै पहिलो पटक घर-घरमा पुगेर देउसी- भैलो कार्यक्रम  

राजदूत दिपक अधिकारीको निवासमा पुगेर टोलिले देउसी-भैलो मार्फत नै आफ्नो उदेश्यबारे स्पष्ट पारेको थियो। संघले देउसीभैलो मार्फत संकलित रकम छुट्टै बैंक खातामा राख्ने र ‘नेपाली घर’ निर्माणका लागि आर्थिक स्रोत जुटाउदै जाने लक्ष्य लिएको छ। 

झन्डै ६ सय नेपालीहरुको संख्या रहेको स्विट्जरल्याण्डमा पनि यसपटक देउसी-भैलो गुञ्जियो। मुना भट्टराई आचार्य र ज्योती पुनको पहलमा देउसी भैलो कार्यक्रमको आयोजना भएको हो। स्थानीय पत्रकार हिरालाल श्रेष्ठका अनुसार झण्डै ५ दशकदेखि नेपालीहरुको बसोबास रहेको स्विट्जरल्याण्डको ईतिहासमा घर -घरमा पुगेर देउसी-भैलो खेलेको सम्भवत: पहिलोपटक हो। टोलीले स्विट्जरल्याण्डको बासेल आराउ र जुरीख शहरहरुमा नेपालीको घर- घरमा नै पुगेर देउसी-भैलो खेलेको थियो। 

नेपाली स्कुल नर्वेलाई भने एक साता अघि देखि नै तिहारको रन्कोले छोएको थियो। ओस्लोमा आयोजित देउसी-भैलो कार्यक्रममा नेपाली कला, संस्कृती र भाषा सिक्न प्रेरित गर्दै नेपाली बालबालिकाहरुले गीति नाटक समेत प्रस्तुत गरेका थिए। 

नेपाली स्कुल नर्वेलाई तिहारको रन्कोले

सबै जातजाति र भेषभुषा झल्कने पोशाकहरु सहित नृत्य प्रस्तुत गर्दै बालबालिकाहरुले नेपालको साँस्कृतिक बिबिधताको झल्को देखाए। देउसी-भैलो गीतमा पनि उनीहरुको लोभलाग्दो प्रस्तुति थियो।