भाइटिका महोत्सवमा ३० पर्यटक सहभागी


पोखरा – पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा झैं यसपटक पनि तिहारको अवसरमा मंगलबार पोखरामा सम्पन्न गरेको भाइटिका महोत्सव २०१९ मा ३० पर्यटकले सहभागिता जनाएका छन् ।

पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो महोत्सव आयोजना गरिएको थियो । रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले १३ औं भाइटिका महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्ने उद्धेश्य समेत महोत्सवले लिएको तुलाचनले सुनाए ।

नेपाली परम्परा अनुसार पर्यटकलाई तिहारको टिका लगाउने, द्यौसी भैलो खेल्ने र सेलरोटी लगायत अन्य परिकार खाने खुवाउने कार्यक्रम महोत्सव अन्तर्गत समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा पर्यटकहरुले १५ अमेरिकी डलर तिरेर सहभागीता जनाएका थिए । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहोर्याएर समेत टिका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

भाइटिका महोत्सव पर्यटकका लागि नयाँ पर्यटकीय प्रडक्ट समेत बन्न थालेको संघका महासचिव गणेशराज पहारीले बताए । टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको महोत्सवको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।