खुल्ला देउसी भैलो प्रतियोगितामा तोरी चौर देउसी भैलो समूह प्रथम


पोखरा- भरतपोखरी विकास मञ्चद्वारा आयोजित दोस्रो खुल्ला देउसी भैलो प्रतियोगितामा तोरी चौर देउसी भैलो समूहले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा मिलनसार सामाजिक उद्यमी महिला सहकारी समूह दोस्रो, सिस्ने सरस्वती आमा समूह तेस्रोे, कुसुण्डे टोल विकास संस्था सान्त्वना भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट बाद्यबादन तर्फ भगवती सिर्जनशील आमा समूह, उत्कृष्ट नृत्य तर्फ माछापुच्छ«े टोल विकास संस्था र उत्कृष्ट भेषभुषा तर्फ हेमजा आमा समूह विजयी भएका छन् ।
प्रतियोगिताका विजयीलाई पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्य, नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्लेले सामूहिक रुपमा नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरे । 
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो ।

त्यस्तै उत्कृष्ट नृत्य, भेषभुषा र बाद्यबादनमा विजयीलाई पाँच÷पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रममा पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले दशैं, तिहार जस्ता चाडपर्वले एकआपसमा भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय एकता कायम गर्न योगदान गर्ने धारणा राखे ।
देश विकासका चरणमा प्रवेश गरेको बताउँदै उनले राष्ट्रको समृद्धिका लागि एकतावद्ध प्रयास आवश्यक हुने बताए ।
भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले संस्कृतिको जगेर्नाका लागि मञ्चले यस किसिमको कार्यक्रम गरेको बताउँदै समग्र भरतपोखरीको विकास र समृद्धिका लागि सहयोगी संस्थाका रुपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । 
पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यले वडामा विकासको क्रमले गति लिएको बताउँदै विकासमा एकतावद्ध प्रसार आवश्यक हुने बताए ।

नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिराम काफ्लेले दशैं तिहार जस्ता चाडले एक आपासमा भाइचारा बढाउने बताउँदै संस्कृतिको जगेर्ना लागि गरिएको प्रतियोगिता प्रशंसायोग्य भएको धारणा राखे ।
अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष रश्मी आचार्यले तिहारको सांस्कृति महत्व बारे प्रकाश पार्दै यसले सबैमा सुख शान्ति र समृद्धि कायम गराउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मञ्चका सांस्कृतिक समिति संयोजक चेतबहादुर महत, रामप्रसाद ढकाल, पितृराज आचार्य, लगायतले देउसी भैलोको महत्व बारे प्रकाश पार्दै सबैमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा प्रथम पुरस्कारका प्रायोजक ऋषिराज आचार्य लगायतका सहयाग दाताहरू, निर्णायक मण्डलका संयोजक पदमराज ढकाल, सदस्यद्वय डा.अशोक थापा र वासुदेव पौडेल लगायतलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।