पेलेर गए सशक्त ढङ्गले प्रतिवाद गर्ने : सभापति देउवा


 चाैतारा - नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताउनुभएको छ ।     

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवाद गर्ने जिकिर गर्नुभयो । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिनुभयो ।

वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद् अग्नि सापकोटा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु नौ करोड १८ लाख ७८२ मा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो । (रासस)