कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान जारी


पोखरा – नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान नेतालाई उम्मेदवार वनाएको भन्दै खुशी प्रकट गरे । उम्मेदवारले पोखरा–७ का सबै टोलमा पुगेर मत मागेका थिए ।

उक्त अवसरमा कांग्रेस उम्मेदवार खेमराज पौडेलले पार्टीले दिएको जिम्मेवारी वहन गर्न आफू कुनै हालतमा पछि नपर्ने बताए ।

उनले यो चुनावमा अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरे । उनले देशमा २ तिहाईको सरकारले जनहित विपरित काम गरेको भन्दै निष्ठाको राजनीति सिकाउन पनि आफ्नो उम्मेदवारी भएको बताए । पछिल्लो समयमा नेपाली राजनीति बल मिच्याइँमा अघि बढेको बताउँदै उनले यसलाई सही बाटोमा ल्याउनु पर्ने स्पष्ट पारे ।

पोखरा–१७ मा पनि चुनावी प्रचार

कांग्रेसले पोखरा–१७ मा सम्पर्क कार्यालयको स्थापना गरेको छ । उक्त कार्यालय संविधानसभा सदस्य राजु थापाले शुभारभ गरेका थिए । उक्त अवसरमा थापाले कांगे्रसको तर्फबाट उम्मेदवार बनेका खेमराज पौडेलले विपिकै पालामा पञ्चायत ढाल्नका लागि महत्वपूर्ण योगदान दिएको बताए । नेपाली कांग्रेसले यो चुनाव जित्दैमा सरकार परिवर्तन नहुने तर कडा प्रतिपक्षीको रुपमा उभिनका लागि सहयोग मिल्ने थापाले बताए । उनले वर्तमान सरकार काण्डै काण्डमा मुछिएको हुँदा यस पटक कांग्रेसलाई मतदान गर्न आवश्यक रहेको बताए ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले कांग्रेस गणतन्त्र, प्रजातन्त्र र सम्पूर्ण राजनीतिक पार्टीको अविभावक भएका कारण पनि यसले आफ्नो लागि मात्र सोचेर नपुग्ने बताए । उनले माओवादीलाई जंगलबाट सिंहदरबारसम्मको यात्रामा ल्याउन कांग्रेसले खेलेको उल्लेखनीय भूमिका ज्वलन्त उदाहरणको रुपमा रहेको स्पष्ट पारे ।

वडा सभापति सभापति देवराज आचार्यको सभापपतत्वम भएको कार्यक्रममा सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस जिल्ला सहसचिव रंगिला आचार्य, वडाका उपसभापति दिपेन्द्र बराल, सहसचिव बिनम गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यक्रममा वडा सभापति देवराज आचार्यको संयोजकत्वमा ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।