मतदाताले विद्यालाई भने : रवीन्द्र र देशको सपना पूरा गर्नू


पोखरा – पोखरा २१ का बासिन्दासँग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा २१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाईस्वागत गरे ।
पोखरा १७ र पोखरा २१ जोड्ने पुलअघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले उनलाई आशीर्वाद दिए । ‘रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते,’ भावुक भन्दै पहारीले भने, ‘रवीन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’
रवीन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको हरि अधिकारीले सुनाए । ‘उनी नभएको भए पोखरा–२१ यस्तो हुनेनै थिएन,’ उनले भने, ‘यो ठाउँ कम्युनिस्टले विउ रोपेर मलजल पनि गरेको छ, नत्र यो ठाउँ यस्तो हुनेनै थिएन ।’
घरदैलोमा उम्मेदवार विद्याले जित हासिल गरेपछि जनचहानालाई शिरोपर गरी अघि बढ्ने प्रतिवद्धता गरिन् । ‘मेरो परिवार र पार्टीले नै दिएको ज्ञान अगालेर जनताकै हितमा जीवन समर्पण गर्नेछु,’ उनले भनिन् । नेकपा कास्की अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद राजीव पहारी, नेकपा पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्य, नेकपा पोखरा २१ का अध्यक्ष कृष्ण थापामगर लगायतका नेता विद्यासँगै पोखरा २१ मा मत माग्न हिडेका थिए ।
मंगलबारै दर्जनौं नेपाली कांग्रेस कार्यकर्ता तथा समर्थ नेकपामा प्रवेश गरेका छन् । विद्याको हातबाट टीका लगाउँदै कुमार सिंह गुरुङ (प्रसाद), शेरबहादुर गुरुङ लगायत नेकपामा प्रवेश गरेका हुन् ।

पोखरा १५ मा घरदैलो
चुनावी प्रचार कार्यक्रम अन्र्तगत मंगलबार पोखरा १५ स्थित खरबारी टोलमा घरदैलो तथा कोणसभा भएको छ । कोणसभामा नेकपा कास्की सचिव बखान सिंह तमुले परिवर्तनको संवाहक नेकपा उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । कार्यक्रमाम पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले पनि बोलेका थिए । खरबारीमा खेमनारायण पौडेलको संयोजकत्वमा ४५ सदस्यीय चुनाव प्रचारप्रसार परिचालन कमिटी बनेको छ ।
महिलालाई आत्मनिर्भर बनाएर समृद्धि ः विद्या
नेकपाले पोखरा ११ मा पनि निर्वाचन परिचालन कमिटी कार्यालय स्थापना गरेको छ । कार्यालयको कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराईले उद्घाटन गरिन् । भट्टराईले महिलालाई शिक्षा र आर्थिक सशक्तीकरणका माध्यमबाट आत्मनिर्भर बनाउनुपर्ने बताइन् ।
उनले महिलालाई उद्यमशील बनाउन सके त्यसले समृद्धिमा सघाउने जनाइन् ।
नेकपाका केन्द्रीय सदस्य चूडामणि जंगलीले सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल बनाउनका लागि नेकपा उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
कार्यक्रममा नेकपा वडा सचिव कुमार क्षेत्री, देवेन्द्र बास्तोला लगायतले पनि बोलेका थिए ।

पोखरा ३३ मा कार्यालय
मंगलबारै पोखरा ३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटी कार्यालय स्थापना गरेको छ । कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे । कार्कीले समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक रहेको र नेकपा उम्मेद्वार विद्या सबै हिसाबले उपयुक्त पात्र भएको दाबी गरे ।
पोखरा १६ मा प्रचार अभियान
नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ ले प्रचार अभियानलाई तीव्रता दिएको छ ।
वडाको महिला समितिले भेला आयोजना गरी चुनावी प्रचार रणनीतिबारे छलफल गरेको छ । युवाको भेलाले पनि प्रचार अभियानलाई सघाउने रणनीति तय गरेको कमिटी संयोजक निर्मल आचार्यले बताए ।
महतगौंडामा चुनावी कार्यालय
नेकपाले पोखरा १७ को महतगौंडामा निर्वाचन कार्यालय खोलेको छ । कार्यालयको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले उद्घाटन गरे । उनले सरकारले गरेका काम र कम्युनिस्ट पार्टीको घोषणापत्रलाई लिएर जनतामा जान आग्रह गरे । नेकपा गण्डकी प्रदेश सदस्य गंगा पोखरेलले अहिले भएका परिवर्तन र समृद्धि जग नेकपाले बनाएकाले निर्वाचनबाट पनि जनताले नेकपालाई नै विजयी गराउने बताए ।
भूमिहीनका समस्या समाधान नगरी आउँदैनौं ः अधिकारी
नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भूमीहिन, सुकुम्बासीका समस्या समाधान गर्न नसके अर्को निर्वाचनमा भोट माग्न नआउने बताएका छन् । उनले भने,‘हामी अब आउने चुनावमा भूमिहिन, सुकुम्बासी र बसपार्कको समस्या समाधन नगरी सूर्य चिह्न बोकेर भोट तर्पाहरुका कहाँ माग्न आउने छैनौं ।’
नेकपा महिला निर्वाचन परिचालन उपसमितिले मंगलबार गरेको कार्यक्रममा उनले व्यवस्थित बसपार्क बनाउनुपर्ने बताउँदै सुकुम्बासीका घर हटाउने र जमिन्दारको घरलाई अगाडि पार्ने गरीनिजी बसपार्क बनाउने पक्षमा नभएको जनाए । अधिकारीले भने,‘फ्रन्टलाइनमै बसपार्क बन्नुपर्छ ।’
सांसद अधिकारीले ३० वर्ष पञ्चायले र ३० वर्ष कांग्रेसको सत्ता चले पनि भूमिहीनका समस्या ज्यूका त्यु रहेको बताए ।उनले महिलाले जिम्मेवारी पाएका ठाँउमा भष्ट्राचार नभएको दाबी गर्दै थपे, ‘दिदिबहिनी भएको ठाँउमा भष्ट्राचार भएको छैन । महिला देश सक्षम छन् भनी प्रमाणित गर्न पनि विद्या भटराईले चुनाव जित्नै पर्छ ।’
नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले स्थिर सरकार र समृद्धिको खाका भएको नेकपाबाट मात्रै देशको कायाकल्प सम्भव हुने दाबी गरे । नेकपा कास्की अध्यक्ष कृष्ण थापाले ३० वर्षदेखि पार्टीमा क्रियाशील, लगनशील र ऊर्जावान् व्यत्तिलाई उम्मेदवार बनाएको बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल, कास्की सचिव बखानसिंह गुरुङ, महिला परिचालन समिति संयोजक गायत्री गुरुङ र महिला नेतृ रत्ना गुरुङ लगायतले बोलेका थिए ।
पोखरा ८ मा चुनाव प्रचारप्रसार उपसमिति
उपनिवाचनलाई प्रभावकारी बनाउन पोखरा ८ मा चुनाव प्रचारप्रसार उपसमिति गठन गरिएको छ । नेकपा केन्द्रीय सदस्य एवं कास्की सहइन्चार्ज शारदाप्रसाद सुुवेदीको उपस्थितिमा भएको बैठकले उत्तम पोखरेलको संयोजकत्वमा १ सय ७१ सदस्यीय निर्वाचन प्रचारप्रसार उपसमिति गठन गरेको छ भने २५ सदस्यीय सचिवालय बनेको छ । पोखरा ८ मा १२ वटै टोलमाटोल कमिटीसमेत गठन गरेको छ ।