राष्ट्रपति हमिदको पोखरामा भव्य स्वागत, रुपा गाउँपालिकाद्वारा दारको ठेकी उपहार प्रदान


पोखरा – नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको छ । नेपाली सेनाको विशेष हेलिकप्टरबाट यहाँ आउनुभएका उहाँलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसहित प्रदेशका कार्यवाहक मुख्यमन्त्री, सभामुख, मन्त्रिगण, प्रमुख प्रतिपक्षी दलका नेता एवं उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।

राष्ट्रपतिको स्वागतार्थ विमानस्थलको अतिविशिष्ट कक्षबाट उहाँ सवार हेलिकप्टरसम्म नै रातो कार्पेट बिच्छ्याइएको थियो । हेलिकप्टरबाट झर्नासाथ क्रमशः नेपाली परम्परागत पोशाकमा सजिएका पञ्चकन्या, प्रदेश प्रमुख, कावा मुख्यमन्त्रीलगायत उच्चपदस्थ अधिकारीले गर्नुभएको स्वागतमा राष्ट्रपति हमिद प्रफुल्लित देखिनुहुन्थ्यो । विमानस्थलमा उहाँको स्वागतार्थ पञ्चैबाजा पनि बजाइएको थियो ।

विमानस्थलको अतिविशिष्ट कक्षमा केही समय रहनुभएका राष्ट्रपति हमिद सवारी साधनबाट मुस्ताङचोक, राष्ट्रबैंक चोक हुँदै पोखराको प्रमुख पर्यटकीय केन्द्र मानिएको फेवाताल पुग्नुभएको थियो । उक्त मार्गमा सहभागी टोल विकास संस्था, आमा समूह, नागरिक समाजलगायत संस्थाका प्रतिनिधिले उहाँको भव्य स्वागत गरेका थिए ।

यस्ता अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउनु आफूहरूका लागि ठूलो अवसर भएको पर्यटन व्यवसायी एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो । “राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ”, उहाँले भन्नुभयो, “अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्नेछ ।” पोखराको प्राकृतिक सुन्दरता र यहाँबाट देखिने रमणीय हिमाली दृश्यले जो कोहीलाई पनि लोभ्याउने गरेको बताउँदै उहाँले मौसमका कारण आज भने आशातित हिमाल खुल्न नसकेको बताउनुभयो ।

फेवाताल किनारमा पुग्नुभएका राष्ट्रपति हमिदले धर्मपत्नीका साथ झण्डै आधा घण्टा जलविहार गर्नुभएको थियो । जलविहारका क्रममा उहाँले ठाउँठाउँमा सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गर्नुभएको थियो । जलविहारपछि राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिष्टेल लजमा दिवा भोज गर्नाका साथै केही समय आराम गरी दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गर्नुभयो । रुपाकोटको दृश्यावलोकनपछि उहाँ सीधै काठमाडौँ फर्कनु भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

रुपाकोटमा मुस्लिम, दलित, नेवार र गुरुङ समूदायले आफ्नो कला संस्कृति प्रस्तुत गरेर राष्ट्रपति हमिदलाई स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई रुपा गाउँपालिकाले दारको ठेकी उपहार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हमिलाई ठेकी उपहार दिनु भएको हो । रुपा गाउँपालिकामा करिब १ हजार ५ सय वर्ष अघिदेखि दारको ठेकी बनाइँदै आएको छ । ठेकी उपहार र रुपाकोटबाट देखिएको दृश्यावलोकन गर्न पाउँदा आफूलाई खुसी लागेको हमिदले बताएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । तस्वीरः प्रदीपराज वन्त/रासस