अति लोकतन्त्र भए अराजकता हुन्छः मन्त्री चुमान


पोखरा – पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्यका लागि सबैले सहयोग गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले पोखरामा सोमवार ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयमा आयोजना गरिएको कार्यक्रममा सो कुरामा जोड दिइएको हो । सहभागीहरुले राज्य र गैरराज्य दुबैले आचारसंहिता पालना गर्ने हो भने दण्डहिनता न्यूनिकरण हुने बताए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले पत्रकारको सुरक्षा र दण्डहिनता अन्त्यको लागि राज्य र पत्रकार दुबै संवेदनशिल हुनुपर्नेमा जोड दिए । ‘राज्यलाई मर्यादित बनाउन म प्रतिवद्ध छु,’ उनले भने, तपाईहरु पनि सचेत रहि कार्य गर्नुहोला ।’ मन्त्री चुमानले नेपालमा लोकतन्त्रको अभ्यास अति लोकतन्त्रतर्फ गइरहेको बताए । ‘अति लोकतन्त्र भए अराजक उत्पन्न हुन्छ, उनले थपे, ‘अति प्रजातन्त्र प्रति हामी सचेत हुनु जरुरी छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सरोकारवालाबीच भएको यस प्रकारको छलफल कार्यक्रमले सम्बोधन गर्नुपर्ने विषय जानकारी हुने उल्लेख गरे । उनले पेशालाई मर्यादित बनाउनुपर्ने बताए । ‘सामाचार लेखेको कारण कुनै समस्या हुन्छ भने हामीले हेर्नुपर्छ,’ उनले अगाडी भने, ‘तर अन्य कुनै पेशा गरेको अभियोगमा पत्रकारितासँग जोड्ने विषयमा हामी स्पष्ट हुनुपर्छ ।’ उनले पत्रकारको भौतिक सुरक्षा मात्र नभई सामाजिक र आर्थिक सुरक्षापनि महत्वपूर्ण पाटो भएको सुनाए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले राज्यले स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । उनले पत्रकार आफै व्यवसायिक ढंगबाट अघि बढ्नुपर्ने उल्लेख गरे । बरिष्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङले अपराध गर्ने व्यक्ति सजाँयको भागिदार हुनुपर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका बरिष्ठ प्रहरी उपरिक्षक राजेश कुमार लाल कर्णले भीभीआइपी व्यक्ति आउदा सुरक्षाका कारण पत्रकारहरुलाई समाचार संकलनमा कठिनाई भएको स्विकार गरे । प्राध्यापक वेदहरी तिमील्सीनाले दबाब, प्रभाव र अभावमा पत्रकारिता गर्न नसकिने बताए । बरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारहरु पार्टीका प्रवक्ता भएर हिड्दा स्वतन्त्र पत्रकारितामा चुनौती थपिएको उल्लेख गरे । ‘२ ठाउँमा खुट्टा नहालौं, उनले भने, ‘यसले व्यवसायिक पत्रकारितामा बाधा उत्पन्न हुन्छ, यस्तो नगरौं ।’ अधिवक्ता हरिराम पोख्रेलले पत्रकारिता पारदर्शीता र स्वतन्त्र हुनुपर्नेमा जोड दिए । राष्ट्रिय मानव अधिकार आयोग पोखराका मानवअधिकार अधिकृत टंक खनालले पूर्वाग्रही भएर समाचार लेख्दा धम्की र आक्रमण हुने गरेको सुनाए ।

गैर सरकारी संस्था महासंघकी विना शिलवालले नवआगन्तुक पत्रकारलाई अभिभावकत्व कम भएको गुनासो गरिन । क्रियाशिल पत्रकार महिलाकी सरिता पंगेनीले राज्यले ल्याएका ऐनका कारण खोजमुलक पत्रकारिता गर्न चुनौती थपिएको टिप्पणी गरिन् । फ्रिडम फोरमकी राममाया लामिछानेले र रमेश पौडेलले पत्रकारले लेखेका सुचनाले सर्वसाधारण सुुसुचित हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार लाल बहादुर क्षेत्री, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, नागरिक समाजका रामप्रसाद पौडेल, पत्रकार नवराज सुवेदी, भरत कोइराला, नविन सिग्देल, जमुना वर्षा शर्मा लगायतले स्वतन्त्र पत्रकारिताका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

हरेक वर्ष नोभेम्बर २ लाई पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको फ्रिडम फोरमका प्रदेश प्रतिनीधी राजन उपाध्यायले जानकारी दिए । पत्रकार तथा मिडियाकर्मी विरुद्ध हुने अपराधसम्बन्धी दन्डहीनता अन्त्य गर्नका लागि विश्वभर ऐक्यवद्धता जनाउने, जनचेतना जगाउने, पीडित पत्रकारको न्यायको लागि वकालत गर्ने उद्देश्यले यो अन्तर्राष्ट्रिय दिवस मनाउन शुरु गरिएको हो । सन् २००९ मा फिलिपिन्सको एम्पातुयन हत्याकाण्ड (मागुइडानो हत्याकाण्ड) मा मारिएका ३२ पत्रकार तथा मिडियाकर्मीको सम्झनामा विश्वभरका अभिव्यक्ति स्वतन्त्रताप्रेमी संघ, संस्थाले गरेको वकालतको परिणामस्वरुप संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१३ देखि यो दिवसलाई संसारभर मनाउने निर्णय गरेको थियो ।