पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेले सहयोग गर्ने


पाेखरा – आगामी फागुन ३ गते पोखरामा हुने १४ औँ संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीसँग मात्र नभई सिङ्गो नेपालसँग समेत जोडिएकाले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिकसहितको अन्य सहयोग गर्ने बताउनुभएको हो ।

बेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावक सहभागी हुने गरेको भन्दै उक्त दौडलाई पनि लण्डन म्याराथनस्तरमै चर्चा गर्न सकिने बताउनुभयो । गुरुङले भन्नुभयो, “हिमाल हेर्दै म्याराथन दौडन पाउने विश्वका कम मुलुकमा हुने यो अवसर पोखरा म्याराथनमाा छ । यस प्रतियोगितालाई हामीले खेल पर्यटन र विदेशमा गएका नेपालीलाई स्वदेश फिर्ता हुने समयको रूपमा स्थापित गर्न सक्नुपर्छ ।” नेपालमा हुने खेलमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिँदै आएको बताउनुभयो । विजेतालाई रु एक लाख पुरस्कार राशि राखिएकोमा यस वर्ष राम्रो सहयोग जुटेमा विजेतालाई रु तीन लाखसम्मको पुरस्कार राख्ने योजना भएको उहाँले बताउनुभयो ।

उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन हुँदा नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मञ्चका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त स्पर्धालाई धेरै आप्रवासी नेपालीले सहकार्य गर्न खोजेको जानकारी दिनुभयो ।