सागमा खटिने दुई सय ३० स्वयंसेवकलाई फिजिकल तालिम


पोखरा- १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिम पश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।
“हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारिरीक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसंग कसरी समन्वय गराउने ? भन्ने विषयमा सुसूचित गराउँदै फिजिकल तालिम दिएका छौँ”– प्रशिक्षक दिपक गोदारले भने ।
सागको व्यवस्थापन तथा सुरक्षामा नेपाल प्रहरीको प्रमुख भूमिका रहनेछ । यस बाहेक स्वयंसेवक समेत खटाइनेछ । सागमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र समेत दिइने गोदारले जानकारी दिए । साग अन्तर्गत पोखरामा ८ खेल हुँदैछ । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।
त्यसैगरी, १३ औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० जना सम्पर्क अधिकारी (लियाजन)हरु समेत खटाइने भएको छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिहरुको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । सम्पर्क अधिकारीले पोखराको बारेमा जानकारी समेत दिनेछन् ।
विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारकोबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटिका संयोजक जगन गुरुङले बताए ।