शेरबहादुर देउवालाई झूठको राजनीति बन्द गर्न प्रचण्डकाे चेतावनी


पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवालाई झूठको राजनीति बन्द गर्न चेतावनी दिएका छन् । कास्की २ को उपनिर्वाचनलाई लक्षित गरेर बुधबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले कांग्रेस र देउवाको झूठको राजनीति गर्ने बुद्धिले प्रतिपक्ष बन्ने हैसियतपनि गुम्ने चेतावनी दिएका हुन् । कांग्रेसले गल्तीको समीक्षा गर्नुपर्छ,‘उनले भने,‘यस्तै कुबुद्धी र झूठको राजनीति गरिरहने हो भने कांग्रेसले प्रतिपक्ष बन्ने हैसियतपनि गुमाउँछ, अनि कुनैदिन इतिहासमा कांग्रेस भन्ने पार्टी थियो भन्ने हुनसक्छ ।’

नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रियताको पाठ नपढाउन कांग्रेसलाई चेतावनी दिए । जनकपुर चुरोट कार्खाना, भुकृटी कागज कार्खानालगायतका राष्ट्रिय गौरवका आयोजना बेचेर खाने कांग्रेसले नेकपालाई पाठ पढाउन आवश्यक नरहेको उनले बताए । देशको सीमा रक्षादेखि राष्ट्रियताको हरेक सवालमा नेकपाले रक्षा गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की २ मा पहिले भन्दा भारी अन्तरले जिताउन पोखरेली जनतालाई अपिल गरे । मौन अवधीमा लुकीछिपी हुने षडयन्त्रलाई रोक्नुस्,‘उनले भने,‘हामी अत्यधिक मतले बिजयी हुन्छौं ।’ पार्टीको मतभेद र सरकार सञ्चालनबारे स्पष्ट भइसकेकाले नेकपाको जित सुनिश्चित भएको दाबी गरे । उनले अब ५ वर्षसम्मै स्थायी सरकार चल्ने स्पष्ट पारे । उनले पार्टी एकताको सबै काम पूरा भएको बताउँदै अब खाली ठाउँमा तलबाट भरिने जानकारी गराए ।

प्रचण्डले विपक्षी कांग्रेसले गरेको नराम्रो कामलेपनि यस पटकको उपनिर्वाचनमा जित हासिल गर्न सजिलो हुने बताए । देउवाले भारतले सार्वजनिक गरेको नक्सा सम्बन्धी झुठ बोलेको र त्यसलाई पोखरेली जनताले नपत्याउँदा नेकपालाई चुनाव जित्न सजिलो हुने उनको दाबी थियो । त्यस्तै पार्टी र सरकारले डेढ वर्षमा कामलेपनि चुनाव जित्न सजिलो हुने उनले बताए ।

प्रचण्डले पीडा र शोकलाई शक्तिमा बदल्न चुनाव जित्नुको विकल्प नरहेको बताए । उनले विद्या सक्षम र योग्य हुनुका साथै विकासप्रेमीसमेत भएकाले जित सुनिश्चित हुने बताए । उनले देवघाट गएर ध्यान र ज्ञान सिक्ने उमेरका ७७ वर्षे बृद्ध खेमराज बालाई चुनावमा उम्मेद्वार बनाउने कांग्रेसले प्रधानमन्त्रीप्रति कटाक्ष गर्न नसुहाउने बताए । ‘हाम्रो प्रधानमन्त्तीलाई कहिलेकाहिं बिदा दिनुपर्छ भनेर आवाज उठाउने कांग्रेसले ७७ वर्षका बुढालाई अघि सारेका छन्,‘उनले थपे,‘जो अब देवघाट तिर जानुपर्ने बेला छन्, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवान प्रधानमन्त्रीलाई आराम (रेष्ट) गर भन्न मिल्छ त ? ।’

प्रचण्डले नेकपाको प्रस्तावमा दलित, जनजाति जोसुकैपनि प्रधानमन्त्री बन्न सक्ने बताए ।