बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा


लन्डन (एपी/रासस) – बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् ।

बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए ।

युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) लाई समर्थन गर्ने कन्जर्भेटिभ्स पार्टीका नेता जोनसनले विपक्षी नेता कोर्बिनलाई एक अस्पष्टतावादी नेताका रुपमा चित्रण गर्ने कोशिस गर्नु भएको थियो । जोनसनको भनाईमा ब्रेक्जिटप्रति कोर्बिनमा कुनै दृढ अडान छैन, र यसले बेलायतलाई थप अनिश्चिततामा डुबाउँछ ।

त्यस अवसरमा नेता कोर्बिनले उपस्थित दर्शकहरूलाई कन्जर्भेटिभ्स सरकारले ल्याएको खर्च कटौतीको बारेमा सम्झना गराउनुभएको थियो । उहाँले प्रधानमन्त्री जोनसन बेलायतलाई हानि गर्ने किसिमबाट संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्नेतर्फ केन्द्रित हुनुभएको दाबी गर्नुभयो ।

दुबै नेताले एकअर्कोको चरित्रलाई लिएर प्रश्न समेत गर्नुभएको थियो । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई आफ्नो पार्टीमा मौलाएको धार्मिक कट्टरवाद वा धार्मिक घृणालाई रोक्न असफल भएको आरोप लगाउनुभएको थियो ।

कोर्बिनले प्रत्युत्तरमा “नेतृत्वमा विफल हुनै लाग्दा आफू र आफ्नो दलमाथि जोनसनले अभद्र र अशिष्ट टिप्पणी” गरेको बताउनुभएको थियो । गत वर्ष एक पत्रिकाको लेखमा जोनसनले बुर्का लगाएकी मुसलमान महिलालाई चित्रित गर्दै उनीहरु “पत्र मञ्जुषा” भनी टिप्पणी गर्नुभएको कोर्बिनको भनाई थियो ।

बीबीसीका पत्रकार निक रोबिन्सनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उहाँले बेलायती जनताबीच दुई अलोकप्रिय र अविश्वसनीय नेता छनौट गर्नुपर्ने “असम्भव विकल्प” मात्र बाँकी रहेको बताउनुभएको थियो ।

बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीले आफ्नै पार्टीका उम्मेदवारहरूका विचार सुनेपछि निराशा व्यक्त गर्नुभएको छ । कन्जरभेटिभ्स पार्टीबाट यसअघि प्रधानमन्त्री बन्नुभएका जोन मेजरले ब्रेक्जिटलाई “मेरो जीवनकालको सबैभन्दा नराम्रो विदेश नीति निर्णय” भन्नुभएको छ भने पूर्व लेबर नेता टोनी ब्लेयरले मतदाताहरुलाई एक “भयानक” छनौट मात्र बाँकी रहेको बताउनुभयो ।

अर्को बिहीबार हुने चुनावअघि गरिएको पछिल्ला मत सर्वेक्षणहरुले जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन् ।

कन्जरभेटिभ्स पार्टीले हाल अल्पसंख्यक सरकार सञ्चालन गरिरहेको थियो, र ब्रेक्जिट गतिरोध अन्त्य नभएका कारण जोनसनले डिसेम्बर १२ मा पुनः संसदका लागि आमचुनावको मिति तोक्नु भएको हो । दुई वर्षअघि भएको चुनावले ब्रेक्जिट गतिरोध हटाउन सकेको थिएन ।

विपक्षीको समेत सहमतिमा हुन लागेको यस चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा गर्नुभएको छ । उहाँको भनाईमा यदि कन्जरभेटिभ्सले बहुमत ल्यायो भने ब्रेक्जिट सम्झौतालाई अनुमोदन गर्न संसदमा प्रस्ताव लैजाने छ । बेलायतलाई आगामी जनवरी १ बाट युरोपेली संघबाट अलग गरिने पनि उहाँले बताउनुभयो ।

बहसमा जोनसनको भनाईप्रति असहमति जनाउँदै विपक्षी नेता कोर्बिनले आफू ब्रेक्जिट मामिलामा तटस्थ रहेको र त्यसको अन्तिम निर्णय गर्ने अधिकार जनतामा हुनुपर्ने बताउनुभयो । उहाँले नयाँ ब्रेक्जिट सम्झौताका लागि वार्ता गर्ने वचन दिनुभएको छ ।

“तपाईं ब्रेक्जिटमा अनिश्चितताको अन्त्य गर्न सक्नुहुन्न यदि तपाईंलाई थाहा छैन कि सम्झौता के हो, तपाईं के गर्न चहानुहुन्छ,” जोनसनले भन्नुभयो, “तपाईं सम्झौता गर्न सक्नुहुन्न यदि तपाईं यसमा तटस्थ हुनुहुन्छ ।”

जोनसनका विपक्षीहरूले उहाँका ब्रेक्जिट सम्बन्धी प्रतिबद्धताहरु पनि खोक्रा रहेको बताएका छन्, किनकि युरोपेली संघबाट बाहिरिँदा त्यसबाट महिनौं वा वर्षौंसम्म जटिल व्यापार सम्झौतामा बेलायत अल्झिनुपर्नेछ ।

कोर्बिनको भनाईमा जोनसनको कार्यकालमा बेलायतका मित्र देशहरु घट्ने र अमेरिकासँगको व्यापार सम्झौताका लागि पनि वर्षौं भौंतारिनु पर्ने अवस्था सिर्जना हुनेछ । उहाँले उत्पादन र उद्योगमा सात वर्ष पूर्ण अनिश्चितता र निरन्तर रोजगारी गुम्ने स्थिति आउनेछ भन्नुभयो ।

दुबै नेताले गत हप्ता लन्डनमा भएको घातक आक्रमणको विषयलाई लिएर पनि बहस गर्नु भएको थियो । प्रधानमन्त्री जोनसनले कोर्बिनलाई मुलुकको सुरक्षा मामिलामा कमजोर व्यक्ति रहेको भन्दै चित्रण गर्ने प्रयास गर्नुभएको थियो । तर नेता कोर्बिनले जोनसनकै सत्तारुढ दलले देशको प्रहरी र जेल सुधारका सेवाहरुमा व्यापक कटौती गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।