बार्सिलोनाका नेपालीहरु लपक्कै,हेर्नलाई ‘छ माया छपक्कै’


बार्सिलोना। हास्यव्यंग्यात्मक प्रस्तुतिका लागि लामो समयदेखि जुगलबन्दी गरेका दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ स्पेनको बार्सिलोनामा प्रदर्शन हुने भएको छ। बार्सिलोनाका रहेका नेपाली युवाहरु संगठित समुह ब्रदरउडले सोमबार जिरोना सिनेमाहलमा चलचित्रको स्क्रिनीङ् गर्न लागेको हो।  

गम्भीर राजनैतिक विषयलाई हास्यप्रधान तरिकाले प्रस्तुत गरिएको यस चलचित्रलाई नेपालमा दर्शकहरुले  अत्याधिक रुचाएका थिए। उच्चतहका नेताहरुले समेत चलचित्रलाई हेरेर प्रतिक्रिया दिईरहेको बेला विदेशमा बसेर पार्टीको झन्डामुनि राजनीति गर्न रुचाउने नेपालीहरुलाई समेत चलचित्रले गतिलो झापड हान्ने अपेक्षा गरिएको छ। कथा बिषयबस्तु र व्यावसायिक रुपमा पनि सफल चलचित्रलाई हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहने आयोजकको दावी रहेको छ। 

दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको यस चलचित्रको पटकथा दीपकराजले तयार गरेका हुन् ।