राजदूत शेर्पासँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्दै


स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पा

बार्सिलोना। एनआरएनए स्पेनले राजदूत दावा फूटी शेर्पासँग अन्तरक्रिया गर्ने भएको छ। गत महिनादेखि म्याड्रिडस्थित नेपाली दूतावासको कार्यभार सम्हालेकी राजदूत शेर्पासँग संघले प्रत्यक्ष अन्तरक्रिया गर्न लागेको हो। नेपालीहरुको बाक्लो बसाई रहेको बार्सिलोनामा राजदूत शेर्पा आउने भएपछि स्पेनबासीहरुले थुप्रै जिज्ञासा र समस्याहरुको उठान गर्ने भएका छन्। 

स्पेनमा नेपाली राजदूताबास स्थापना भएपनि खासै गतिलिन नसकेको बेला नवनियुक्त राजदूतसँग दूतावासका गतिबिधि र  भावी योजनाबारे समुदायले चासो राख्ने बुझिएको छ। संघका प्रबक्ता सुन्दर रानाभाटका अनुसार डिसेम्बर ३० तारिख सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। 

राजदूत शेर्पालाई यसअघिपनि  दूताबासमा पुगेर स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरुले प्रत्यक्ष भेटघाट तथा स्वागत गरेका थिए। 

यसअघि स्पेनका लागि पहिलो नेपाली राजदूतको रुपमा भरत बहादुर रायमाझी कार्यरत थिए। तर गत जनवरीमा नै राजदूत रायमाझीलाई नेपाल सरकारले फिर्ता बोलाएपछि म्याड्रिड दूताबास राजदूतबिहिन थियो। झन्डै ९ महिना देखि दूताबासका प्रथम सचिव हरिहरकान्त पौडेलले कार्यबाहक राजदूतको रुपमा जिम्मेबारी सम्हाल्दै आएका थिए।  

अन्तरक्रिया कार्यक्रमबारे बिबरण :

  • मिति : ३० डिसेम्बर २०१९ , सोमबार
  • समय : बेलुका ४:३० देखि ७:३० बजे सम्म
  • स्थान:  सिसिलिया हल  
  • आयोजक :- एनआरएनए स्पेन