डिफेन्डिङ च्याम्पीयन पोखरा लिग चरणबाटै बाहिरियो


पोखरा- डिफेन्डिङ च्याम्पीयन पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल)को लिग चरणबाटै बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा पल्टन एक्सपर्ट धनगडी ब्लुजसँग ५ विकेटले पराजित भएसँगै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । सोमबारको खेल जितेपनि धनगडीकोपनि प्ले अफ खेल्ने सम्भावना न्यून छ । ३ खेलमा पराजय र २ खेलमा जित निकालेको धनगडीको ४ अंक भएको छ । १ खेल कम खेलेको काठमाडौंकोपनि ४ अंक छ । तर नेट रन रेटमा काठमाडौं धेरै माथि छ । धनगडीको नेट रन रेट –१.०६९ छ भने काठमाडौंको १.३०१ छ । यसरी हेर्दा काठमाडौंले आफ्नो अन्तिम खेलमा चितवनसँग फराकिलो हार बेहोरेको अवस्थामा मात्रै धनगडीको गणितीय सम्भावना बाँकी रहन्छ ।

प्ले–अफ खेल्ने सम्भावना जिवित राख्नका लागि भएको खेलमा पोखराले बिर्सन लायक खेल खेल्यो । सोमबारको खेलमा टस जितेको पोखराले पहिलो ब्याटिङ रोज्यो । मौषम नखुलेर चिसिएको पिचमा पहिलो ब्याटिङ गर्ने पोखराको निर्णय गलत सावित भयो । ठूलो लक्ष्य पेश गरेर फराकिलो अन्तरले बिजयी हुँदै ऋणात्मक नेट रन रेटलाई धनात्मकमा बदल्ने पोखरा पल्टनको सपना त्यतिबेला चकनाचुर भयो जतिबेला पोखरा पल्टन ७९ रनमा अलआउट भयो । निर्धारित २० ओभरको खेलमा पोखराले १६.३ ओभरमा पूरै विकेट गुमाउँदै ७९ रनमात्र बनायो । पोखराका लागि आशिफ सेखले सर्बाधिक ३२ र बिनोद भण्डारीले १२ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पोखराका कुशल भुर्तेलले ६, क्याप्टेन शरद भेस्वाकर र सर्वजित लड्डाले अविजित ४÷४ रन बनाए भने प्रथामेश डेयक र कुशल मल्लले २÷२, कृष्ण कार्की र ललितनारायण राजवंशीले अविजित १÷१ रन बनाए । पोखराका रबिईन्दर सिंह र रोहित पौडेल खाता नै नखोलि पेभेलियन फर्किए ।

पोखराको इनिङ धरापमा पार्ने क्रममा धनगडीका अनिल खरेलले ३ विकेट हत्याए । ४ ओभर बलिङ गरेका उनले १५ रनमात्र खर्चिए । त्यस्तै धनगडीका लागि दीपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले २÷२ विकेट लिए ।

८० रनको सामान्य लक्ष्य पाएको धनगडीले ९.१ ओभरमा ५ विकेटको क्षेतिमा लक्ष्य भेट्टायो । धनगडीका लागि दीपक पुनियाले २५ रनको योगदान दिए । उनले १६ बलको सामना गर्दा १ छक्का र २ चौका हिर्काए । त्यस्तै रोड्रिगो थोमसले १० बलमा १५ रन बनाए भने कप्तान दीपेन्द्र्रसिंह ऐरीले १३, शुभेन्डु पाण्डेले ११, सन्दीप जोराले २ तथा मञ्जित श्रेष्ठले अविजित ९ र अमित यादवले अविजित ६ रनको योगदान दिए ।

पोखराका प्रथामेस डेयक र सर्वजित लड्डाले २÷२ तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।

सोमबारको खेलमा धनगडीका दीपक पुनिया प्लेयर अफ दी म्याच घोषित भए । उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार चितवन राइनोज र काठमाडौं गोल्डेन वारियर्स बिच प्रतिष्पर्धा हुनेछ ।