पिपिएलको उपाधि चितवन राइनोजलाई


पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि—२० क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा हजारौं दर्शक माझ शनिबार भएको फाइनल खेलमा
विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

उपाधि सहित चितवनले २७ लाख पुरस्कार प्राप्त गर्न सफल भएकोे छ । उपविजेता भएकोे विराटनगरले भने १० लाख साथमा ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा म्यान अफ दी सिरिजको उपाधि चितवनका रोहन मुस्ताफाले हात पार्दा उत्कृष्ट व्याटिङको उपाधि काठमाण्डौंका कप्तान ज्ञानेन्द्र मल्लले हात पार्न सफल भए । त्यसै गरी प्रतियोगितामा वेष्ट बलरको उपाधि भने चितवनका करण केसीले आफ्नो पोल्टामा पार्न सफल भए । तीन बिधामा उत्कृष्ट खेलाडीलाई जनहि टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा मस्ट भ्यालुएवल विराटनगरका लोकश बम घोषित भए । उनले उक्त उपाधि सहित एक लाख पुरस्कार प्राप्त गरे । त्यस्तै मस्ट इमर्जीङ(उदयमान) खेलाडीको उपाधि भने धनगढीका अनिल खरेल घोषित भए । उनले उपाधि सहित ५० हजार पुरस्कार प्राप्त गरे ।

चितवनले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमै सिमित हुन पुग्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको फराकिलो योगफल तयार पार्यो । विराटनगरका मोहमद जैद आलमले अर्ध सतक पुरा गरे पनि जित सुनिश्चत भएन्। उनले ५ चौका र ३ छक्का प्रहार गरी ५७ रनको जोडेका थिए । कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन जोड्दा बलिङ तर्फ भने चितवनका करन केसीले ३, सन्नी पटेलले २ विकेट लिए ।

चितवनको जितमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतक पुरा गरे । दुवै ब्याट्सम्यानले समान ५०÷५० रन बनाउदा कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान दिए । बलिङ तर्फ विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २÷२ विकेट लिए । फाइनल खेलमा भने चितवनका रोहन मुस्ताफा म्यान अफ दी म्याच घोषित भए । गत बर्षको फाइनल खेलमा पोखरा पल्टनुसंग पराजित हुदै उपविजेता भएको चितवनले यस बर्षको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेको हो । चितवन लिगका ५ सहित फाइनल खेलमा समेत अपराजित भएको हो ।

विजयी खेलाडीहरुको टोलीर्ला गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेश सांसद द्धय बिन्दुकुमार थापा, राजिव पहारी, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । मंसिर २९ गते सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।