बार्सिलोनामा तमु ल्होसार भब्यरुपमा मनाईयो


बार्सिलोना। स्पेनमा गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार एक भब्य कार्यक्रमकाबीच सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो। समाजले सन् सन् २००७ देखि आयोजना गर्दै आएको ल्होसार बिशेष कार्यक्रम यो १३ औं पटक  हो। 

गुरुङ गीत “सिरमा सलि टहमा” बाल कलाकारहरु सहिल तमु,निपूर्ण तमु,प्रेरक तमु,सृष्टी तमुस्यो,सारा तमुस्यो र प्रेक्षा तमुस्योले जोडदार नृत्यसँगै साँस्कृतिक कार्यक्रमको सुरुवात भएको थियो। 

कलाकारहरु चुनु तमुस्यो र प्रबेश तमुको प्रस्तुतिले कार्यक्रममा सबैको ध्यान खिच्न सफल बन्यो। अहिलेको चर्चित लोकप्रिय गीत “साली मन पर्योमा” यो जोडीले नृत्य प्रस्तुत गर्दा दर्शकहरु रमाए।

“यो कुरा गोप्य छ” बोलको गीतमा बाल कलाकारहरुको प्रस्तुतिले पनि दर्शकको ध्यान तानेको थियो। बिदेशमा नै जन्मेर यतै हुर्केका दोस्रो पुस्ताका बालबालिकाहरुको नेपाल गीत संगीतप्रतिको लगाव तारिफ योग्य रह्यो। 

यस्तै गायनतर्फ एमा गुरुङ,युनिक गुरुङ,प्रमेश गुरुङ,सुनिल गुरुङ,तुलसी गुरुङ,बिनोद बराईली,भुमि गुरुङ र समी गुरुङले एकल तथा सामुहिक प्रस्तुतिहरु राखेका थिए। बालकलाकारहरु साहिल गुरुङ,निपूर्ण गुरुङ,प्रणाय गुरुङ,मिसल गुरुङ,प्रंशसा गुरुङले पनि स्टेज तताए। 

बिभिन्न गुरुङ गीतहरुमा पुनम गुरुङ,निशा गुरुङ,शुब्बा गुरुङ,शोभा गुरुङ,रेवाती गुरुङ,समिर गुरुङ, हरी गुरुङ,बिशाल गुरुङले जोडदार नृत्य प्रस्तुत गरे। सिन्जल गुरुङको कोरियोग्राफी निकै प्रसंशनीय थियो। त्यसो त धन बहादुर गुरुङको  (डिबी) फरक प्रस्तुतिका साथै समी गुरुङ र मान गुरुङले कार्यक्रमको संचालन शैली पृथक रह्यो। 

राजदूत दावा फूटीको पहिलो औपचारिक कार्यक्रम 

म्याड्रिडस्थित नेपाली दूतावासमा कार्यभार सम्हालेकी नवनियुक्त राजदूत दावा फूटी शेर्पाले आईतबार पहिलोपटक नेपाली समुदायको औपचारिक कार्यक्रममा सहभागिता जनाईन्। ल्होसारको उपलक्ष्यमा शुभकामाना ब्यक्त गर्दै राजदूत शेर्पाले घरदेखि टाढाको पहिलो ल्होसार नेपाली समुदायमाँझ मनाउन पाउदा खुशी ब्यक्त गरिन्। राजदूत शेर्पाले प्रमुखअतिथिको रुपमा कार्यक्रमको उद्घाटन गरेकी थिईन्। 

कार्यक्रममा एनआरएनए युरोप उपसंयोजक मुक्त बहादुर गुरुङ,एनआरएनए आईसीसी मानार्थ परिषद सदस्य दीपक खरेल,आईसीसी सदस्य सुनिल रानाभाट,एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ(देउकाजी) लगायतले ल्होसारको अबसरमा शुभकामना ब्यक्त गरेका थिए। 

कार्यक्रममा गुरुङ समुदायबाट बिभिन्न  क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान ब्यक्त गर्दै हौसला प्रदान गरिएको थियो। समाजका अध्यक्ष गौतम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्बतमान अध्यक्ष ज्योति गुरुङले स्वागत मन्तब्य राखिन् भने कार्यक्रमको संचालन महासचिव राजु गुरुङले गरेका थिए।