धैर्य गर्नुहोस् दूताबासमा काम गरेर देखाउछु :- राजदूत शेर्पा


बार्सिलोना। “हामीले १० बर्षदेखि स्पेनमा दूताबास स्थापनाको माग गर्दै म्याड्रिडमा नेपाली राजदूताबासको झण्डा फराएका हौ। तर बिगत २ बर्षदेखि दूताबास संचालनमा आएपनि राम्रो गति लिन सकेन।”  नवनियुक्त राजदूत दावा फूटी शेर्पा समक्ष स्पेनबासी नेपालीहरुले गुनासो पोखेका हुन्। बर्षेनी ५-६ करोड खर्च हुने दूताबासले नेपालको हितमा आर्थिक कुटनीतिका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न उनिहरुको सुझाव थियो।

नेपालको ३० मुलुकमा दूताबास,राष्ट्र संघका लागि ३ स्थायी नियोग र ६ महाबाणिज्य दूताबास छन्। म्याड्रिडमा स्थापना भएको दूताबास नेपाल सरकारको पछिल्लो कुटनीतिक नियोग पनि हो। “एक त नयाँ दूताबास पटक-पटक राजनीतिक नियुक्ति गरेर राजदूत पठाउदा दूताबासले गति लिन सकेन।” एनआरएनए स्पेनले सोमबार बार्सिलोनामा अन्तरक्रिया कार्यक्रममा केहि सहभागीहरुले गुनासो पोखे। 

दूताबास संचालनमा आएको दुई बर्ष बितिसक्दापनि आफ्नो वेभसाईटमा गतिबिधिहरु समेत अपडेड गर्न सकेको छैन। न त नेपालको बारेमा कुनै जानकारी नै छ। “कन्सुलर सर्भिसको बारेमा पनि जानकारी छैन। महामहिम ज्यू तपाई आएको पनि डेढ महिना पुगिसक्यो वेभसाईटमा कहिलेदेखि अपडेड होला ?” एक सहभागीले राजदूतलाई प्रश्न गरे। 

तर राजदूत शेर्पाले आँफू निकै उत्साहित र केहि गर्नकै लागि आएको भन्दै धैर्य गर्न आग्रह गरिन्। सहभागीहरुको जिज्ञासा सुनेपछि उनले भनिन्, “नेपाली राजदूत भएर आउदाखेरि निकै उत्साहित भएकी छु। धेरै योजनाहरु लिएर आएकी छु। मेरो ४ बर्षको कार्यकालमा नेपाललाई प्रमोट गर्ने मुख्य उदेश्य हो।”

नयाँ देश नयाँ भाषा आफैलाई सेटल हुन एक महिना लागेको राजदूतको भनाई थियो। राजदूत शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी पनि हुन्। र उनि पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष पनि हुन्। अमेरिकामा अध्ययन गरेकी उनि ३५ बर्षको उमेरमा नै राजदूत बनेर स्पेन आएकी हुन्। 

कार्यक्रममा अर्को प्रश्न पनि सुनियो,”तपाईको आमाले सिङ्गो मुलुकको नामलाई उच्च राख्नुभयो, ४ बर्षपछि दूताबासबाट फर्कदा सबैको हाईहाई भएर फर्कनुहुन्छ ? “मेरो परिवार गरेर देखाउने परिबार भएकाले म धेरै भाषणभन्दा पनि काम गरेर देखाउनेमा बिश्वास गर्छु।” उनले जवाफ फर्काइन्। दूताबासमा दोस्रो राजदूतको रुपमा आउँदा आँफूलाई गर्वका साथै थुप्रै चुनौतिहरु पनि रहेको राजदूत शेर्पाको भनाई थियो। 

त्यसो त राजदूत शेर्पालाई बोल्न र भाषण गर्नमा समस्या नै देखिएको थियो। कार्यक्रममा सहभागीहरुले थुप्रै प्रश्नहरु राखेपनि टिपोट त गरिन् तर प्रश्न अनुसारको जवाफ फर्काइनन्। कुटनीतिक प्रश्नहरु गर्दा राजदूतकालागि जटिलजस्तै देखिन्थ्यो। 

 उनले थपिन्,”अघि कसैले भन्नु भएको थियो नि यो एउटा परीक्षा हो भनेर। परिक्षाका लागि पढाइ गर्नुपर्छ। हो मैले अहिले एकदमै पढाई गरिरहेको छु। यो अन्तरक्रिया पनि सिकाई नै हो। धेरै कुराहरु सुने र सिकेपनि । तपाईहरुका सुझावहरुलाई ब्यबहारमा उतार्नका लागि म प्रतिबद्व छु।”

भम्रण बर्षमा दूताबासले के गर्दैछ ?

नेपाल भ्रमणबर्षमा म्याड्रिड दूताबासले गर्ने ठोस योजनाहरु त राजदूतले प्रस्तुत गरिनन् तर पर्यटन क्षेत्रलाई आर्थिक कुटनीतिको पाटोमा राख्दै दूताबासले प्रभावकारी काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन्। 

“थुप्रै क्षेत्रहरु छन् जहाँ हामीले केन्द्रित गर्न सक्छौ। त्यसमध्ये म आँफू पर्यटन फ्याम्लीबाट आएको हुँदा अझ बढी यो बारे काम गर्ने छु। भर्खर आएको डेढ महिना मात्र भयो। त्यसमाथि हाम्रो सानो टिम छ।अलि धैर्य राखिदिनु होला।” 

म्याड्रिडमा हुने अन्तराष्ट्रिय पर्यटन मेला फितुरमा दूताबासले नेपाल टुरिजम बोर्ड र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)सँग मिलेर काम गर्ने उनले जानकारी दिइन्। स्पेनस्थित संघ संस्थाहरुलाई आ-आफ्नो ठाउँबाट भ्रमण बर्षलाई सफल पार्न राजदूत शेर्पाले आग्रह समेत गरिन्। 

भिसा प्रक्रिया सहज बनाउन पहल गर्छु :- राजदूत 

दिल्लीस्थित स्पेनिस दूताबासले भिसा प्रक्रियामा धेरैले कठिनाई झेल्नुपरेको सहभागीहरुले गुनासो पोखेपछि राजदूत शेर्पाले समेत आफ्नो अनुभव सुनाईन्। “हाम्रै डिप्लोम्याटिक पासपोर्टमा भिसा लगाउन मैले नै १ महिना कुर्नु पर्यो। हाम्रो डकुमेन्टमा के कमी छ ? के गर्दा  प्रक्रिया सहज हुन्छ भनेर दिल्लीस्थित स्पेनिस दूताबासमा मैले सोधेकी थिए।”

तर उहाँहरुले पहिले-पहिले अलि समस्या थियो अहिले सहज भएको जवाफ दिनुभयो। उनले थपिन् ”फेरि यहाँको कन्सुलर डिपार्टमेन्टको डेपुटी डिरेक्टरसँग भेट्दै छु।  तपाईहरुको परिबार बोलाउदा कसरी सहज हुन्छ ? उहाँसँग छलफल गदै यसबारे पहल गर्नेछु।”