जनताको पक्षमा काम गर्न नसके राष्ट्र प्रति घात :मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिस्टको सरकारले आधारभुत तहको जनताको पक्षमा काम गर्न नसके समाज र राष्ट्रप्रति घात हुने बताएका छन । उनले श्रमिक, किसान, जेष्ठ नागरिक, अपांग, अल्पसंख्यकको पक्ष भने जस्तो काम गर्न नसकेपनि कम्युनिस्ट मुल्य र मान्यता भन्दा वाहिर नगएको दावी गरे ।

श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९को आठौं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले कम्युनिस्ट सरकारलाई सजक बनाउने पहिलो अधिकार मजदुरलाई भएको धारणा राखे । उनले कम्युनिस्ट पार्टी, सरकार र मजदुर बीचको सम्बन्ध सुमधुर हुनु पर्ने बताए । सामाजिक न्याय सहितको समावेशी लोकतन्त्रको पक्षमा काम गरेको चर्चा गर्दै उनले समाजवादमा जाने आधार तयार हुदै गएको धारणा राखे ।
कतिपय सरकारीहरुले उद्देश्य र भावना विपरित बंंैकले भन्दा बढी व्याज लिने गरेको दावी गर्दै उनले यस्तो अवस्थामा श्रमिक सहकारीको भूमिका बढ्ने बताए । उनले सबै शेयर सदस्यहरुको आम हित र समानताको पक्षमा काम गरेर श्रमिक सहकारी अरु भन्दा पृथक हुन सुझाव दिए ।

सहकारीका अध्यक्ष ईश्वरप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद चुडामणि जंगली, गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङ, गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार बद्रीनाथ अधिकारी, श्रम तथा रोजगार कार्यालय गण्डकीका प्रमुख गणेश श्रेष्ठ, सहकारीका सल्लाहकार टुवराज बास्तोला, सहकारीका उपाध्यक्ष बद्रीनाथ पराजुली, सचिव चन्द्रप्रसाद गुरुङ र कोषाध्यक्ष रुद्रबहादुर खत्री, सहकारीका सञ्चालक समितिका सदस्य बलराम पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा असल यसोधा लम्साल र रामबहादुर राई,नियमित बचतकर्ता सिताकुमारी नेपाली र लेखनाथ अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा असामयिक निधन भएका शेयर सदस्य गोपालबहादुर ठकुरीका श्रीमति शिलाकुमारी ठकुरीलाई आर्थिक सहयोग गरिएको छ । सभाले अध्यक्ष ईश्वरप्रसाद आचार्यले पेश गरेको प्रतिवेदन, कोषाध्यक्ष रुद्रबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक मन्जुल सुवेदीले प्रतिवेदन सुधार सहित पारित गरेको छ ।