पपस्टार धीरज राई र लोकगायिका सुनिता दुलालले म्याड्रिड तताउदै


 बार्सिलोना। पपस्टारको रुपमा परिचित गायक धीरज राई र चर्चित गायिका सुनिता दुलाल यतिबेला युरोपको सांगीतिक यात्रामा छन्। नेपाल भ्रमणबर्षको सुरुवातसँगै यी कलाकारहरुले गीतसंगीत मार्फत नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याउने उदेश्यसहित युरोपमा सांगीतिक यात्रालाई जारी राखेका हुन्। सारा ईभेन्टस ईन्टरटेन्मेन्टको आयोजनामा स्पेनको राजधानी म्याड्रिडमा यी कलाकार द्वयले आईतबार आफ्नो प्रस्तुति राख्ने भएका छन्। स्पेनकै पर्यटक शहर बार्सिलोनामा पनि आज कलाकारहरुको प्रस्तुति राख्ने बताईएको छ। 

एक दर्जनभन्दा बढी गीति एल्बम सार्वजनिक गरिसकेका गायक राई झन्डै साढे २ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहेका छन्। राईलाई परिचयको खाँचो छैन तर हाल उनि बुद्व नेपालमा जन्मेको प्रचारसहितको गीत लिएर देशविदेशको यात्रामा सक्रिय देखिन्छन्। यी पप गायकले सुगम, लोक तथा रक शैलीका गीतमा समेत आफूलाई प्रमाणित गरिसकेका छन्। स्वदेशका अधिकांश गाउँ-शहरमा आफ्नो सांगीतिक प्रस्तुती दिइसकेका धीरज नेपाल बाहिर बसोबास गर्ने दर्शक तथा श्रोतामाझ पनि लोकप्रिय मानिन्छन्। 

लोकगायिका सुनिता दुलाल देश–विदेशमा उत्तिकै चर्चित छिन्। उनका गीत संगीत रुचाउने फ्यानहरुको संख्या बढ्दो देखिन्छ। पुरानो एवं लोकप्रिय लोकगीत ‘झम्के फूली नाकैमा बुलाकी’ नयाँ भर्सनमा उनकै आवाजमा सुन्न पाउदा दर्शकहरु उनको प्रस्तुतिको लागि झनै उत्साहित छन् । 


ध्रुवराज खड्का र तिर्थकुमारीले गाएको यस गीतलाई अहिलेकी चर्चित लोकगायिका सुनिता दुलाल र घमेश दुलालले रिमेक गरेका हुन्। उनि अमेरिका,क्यानडा,अष्ट्रेलिया,युरोप लगायत संसारका बिभिन्न मुलुकहरुमा रहेका नेपालीहरु माँझ पुगेर प्रस्तुति राखीसकेकी छिन्। उनी विदेशमा सबैभन्दा बढी कार्यक्रम गर्ने नेपाली कलाकारमा मध्येमा एक मानिन्छिन्।  गायिका दुलालका थुप्रै चर्चित गीतहरु छन् त्यो अलवा हरेक बर्ष तीज पर्वमा सांगीतिक कोसेली पस्कदै आएकी छिन्। 

एनआरएनए स्पेन क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष सुजिल गोलेले कलाकारहरुलाई हौसला बढाउन उपस्थितिको लागि नेपाली समुदायलाई अनुरोध गरेका छन्। “नेपाली कलाकारहरुलाई कुनै न कुनै रुपले हामीले सहयोग गर्नुपर्छ। त्यसमाथि बुद्वको सन्देश लिएर यात्रामा हिडेका कलाकारहरुलाई अझ ठुलो सम्मान रहेको छ।’उनले भने। 

म्याड्रिड म्युजिक नाईट नाम दिईएको उक्त कार्यक्रमकालागि अग्रिम टिकट शुल्क १५ युरो तथा हलमा नै पुगि लिएमा २० युरो लाग्ने आयोजकले जनाएको छ। कार्यक्रम दिउँसो ४:३० बजेदेखि सुरु हुँदैछ। 

कार्यक्रमबारे पूर्ण बिबरण :-

  • मिति:– १२ जनवरी २०१० आईतबार 
  • स्थान:- glorieta de los  carmenes 1 
  • समय:– दिउँसो ४;३० बजेवाट 
  • टिकट:– प्रि सेल १५ युरो,डोर टिकट २० युरो 
  • आयोजक :- सारा ईभेन्टस ईन्टरटेन्मेन्ट
  • सपोर्ट:- एनआरएनए क्षेत्रीय समिति म्याड्रिड