काँग्रेसद्वारा उपनिर्वाचनको समीक्षा, ६ प्रतिशत मत बढेको दावी


पोखरा – नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको समीक्षा भेला गरेको छ ।
समीक्षामा जिल्ला कार्यसमिति कास्की , क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका वडा इकाइ सभापतिको सहभागिता रहेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
भेलाले केही वडाहरुमा पार्टीको विगतको तुलनामा मत बढेको र केहीमा घटेको भन्दै त्यसलाई सुक्ष्म अध्ययन गरी पार्टीलाई शशक्त बनाउन जुट्ने निर्णय गरेको छ ।
भेलामा काँग्रेस केन्द्रीय सदस्य डा मिलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परीणाम चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा काँग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए ।
भेलामा नेपाली काँग्रेसका नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना लगायतका १५ जना नेता तथा कार्यकर्ताले आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रम कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।