गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका खगेन्द्र थापा मगरको अन्त्येष्टी


पोखरा- विश्वकै होंचा मानिसका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका खगेन्द्र थापा मगरको शनिबार अन्त्येष्टी गरिएको छ । उनको शनिबार शवयात्रासहित पोखराको रामघाटमा अन्त्येष्टी गरिएको हो । अन्त्येष्टी अघि उनको शव राखिएको मनिपाल शिक्षण अस्पतालदेखि रामघाटसम्म शवयात्रा गरिएको हो । खगेन्द्रको शुक्रबार अपराह्न मनिपाल शिक्षण अस्पतालमा निधन भएको थियो । विहीबार राती उपचारका लागि मनिपाल लगिएकोमा उनको शुक्रबार निधन भएको हो ।

स्वर्गिय खगेन्द्रको शरिरमा उनको ठूला बुबा हिराबहादुर थापा मगरले दागवत्ती दिएका थिए । खगेन्द्रको काजकिरियासमेत उनको ठूलो बुबाले नै गर्ने भएका छन् । खगेन्द्रका बुबा रुपबहादुर थापा मगर विरामी भएकाले उनका ठूलो बुबा हिराबहादुर किरियामा बसेका हुन् । हिराबहादुरले खगेन्द्र बस्ने पोखरा सिर्जनाचोकस्थित डेरामै बसेर ७ दिन मगर परम्परा अनुसार ठाडो किरिया गर्ने खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिए । खगेन्द्रका बुबा रुपबहादुर विरामी हुनुहुन्छ,‘उनले भने,‘त्यसैले खगेन्द्रका ठूलो बुबा हिराबहादुर किरियामा बस्नेछन् ।’ चोखो खाएर सेतो कपडा नलगाई सामान्य कपडा लगाएर बार्ने उनले जानकारी दिए ।

बुबा रुपबहादुर र आमा धनकुमारीका छोरा खगेन्द्रको उचाई ५७.०८ सेन्टिमिटर अर्थात २२.४ ईञ्च र तौल ६ केजी थियो । उनले २०६७ साल असोज २८ गते विश्वकै होंचा व्यक्तिको रुपमा गिनिज बुक्स अफ वल्र्ड रेकर्ड कायम गरेका थिए । तर उनको रेकर्ड ब्रेक गर्दै पछि फिलिपिन्सका जुनेरो बलाविङ विश्वका सबैभन्दा होंचा व्यक्ति भएका थिए ।

यसैबीच, खगेन्द्रको निधनप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुःख व्यक्त गरेका छन् । विश्वकै होंचा व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम दर्ता गरेर गण्डकी प्रदेशसहित समग्र्र नेपालकै नाम चिनाउन सफल भएको भन्दै मुख्यमन्त्री गुरुङले खगेन्द्रको निधनप्रति दुःख व्यक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङले शोक वक्तव्य जारी गर्दै खगेन्द्रप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।