पोखरामा नेपाल अमेरिकी संयुक्त लगानीबारे छलफल


पोखरा – गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकी टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास संघ ( नेपाल डेभलपमेण्ट कन्सोर्टियम)को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मंगलबार पोखराका उद्योगी÷व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुत्तः आयोजनामा भएको अन्तरक्रियामा बोल्दै नेपाल विकास ंसंघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीको लागि तयार रहन र संभावनाका क्षेत्र पहिचान गर्न पोखरेली उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे । गण्डकी प्रदेशका मुख्यमन्त्रीको केहीअघि भएको वासिङ्टन भ्रमण र उनकै निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताए ।

‘यहाँका मुख्यमन्त्री ( पृथ्वीसुब्बा गुरुङसँग असाध्यै राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ’, उनले भने,‘सियाटलमा साना हिमालहरु छन्, त्यहाँ प्रसस्त स्कि रिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।’
कार्यक्रममा बोल्दै सो संस्थाका अर्का संस्थापक सदस्य मुर्ती कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात,योजना, योग्य कामदारको छनौट,व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए । अन्तरक्रिया तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्ताहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले द्धिपक्षीय लगानीले नेपाली उद्योगी÷व्यवसायीहरुले संचालन गर्ने उद्योग÷व्यवसायको दायरा बढ्ने आशा राखे । संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा संभावना नै सम्भावना भएको बताउँदै पूँजि र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राखिन् । संघका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्रहरु पहिचान गरि सहकार्यको हात बढाउन व्यवसायीहरुसँग आग्रह गरे । कार्यक्रममा पोखराका कृषि, उद्योग, पर्यटन तथा हस्तकलालगायतका व्यवसायसँग सम्बन्धित व्यवसायीहरुको उपस्थिति रहेको थियो ।