पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ


काठमाडौँ -   काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।   

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिनुभयो ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।