इनासको आठौं युरोप क्षेत्रीय कार्यक्रमको तयारी तिब्र


 म्युनिख  । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौं युरोप महादेशीय कार्यक्रमको तयारी तिब्र रुपमा अगाडि बढाइएको छ। आगामी ३ र ४ अप्रिलका दिन जर्मनीको म्युनिखमा आयोजना हुन लागेको युरोपस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगिता सहित हुने इनासको आठौं युरोपियन क्षेत्रीय सम्मेलनलाई ब्यबस्थित रुपमा सम्पन्न गर्न युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति जर्मनीले १५ फेब्रुअरीका दिन प्रारम्भिक तयारी बैठक सम्पन्न गरेको छ ।

इनास जर्मनीका बरिष्ठ सल्लाहकार खड्ग न्यौपानेद्वारा औपचारिक रुपमा संचलान गरिएको बैठकमा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, युरोप क्षेत्रीय संयोजक, उपसंयोजक सहित राष्ट्रिय समिति बेल्जीयम, फ्रान्स, अष्ट्रिया लगायत युरोप क्षेत्रका बिभिन्न देशबाट इनासका पदाधिकारीहरुले सहभागिता जनाएको र उक्त कार्यक्रमलाई मर्यादित रुपमा सम्पन्न गर्ने सम्बन्धमा छलफल भएको जानकारी आयोजक राष्ट्र जर्मनीका अध्यक्ष सुनिल गुरुङले जनाए।

इनास युरोप संयोजक सन्त कुमार थापा मगर र सह संयोजक प्रकाश तिवारीको संयुक्त सयोजकत्वमा भएको प्रारम्भिक बैठकमा इनास युरोपले उक्त कार्यक्रममा हुने सहभागिता, सहयोग र पारस्परिक सहकार्यका बारेमा जर्मन स्थित बिभिन्न संघ सस्थाहरुसंग छलफल गरेको थियो जस मध्य, गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष हरि न्यौपाने, एनआरएनए एलसीसी बायर्न, हिमालय परिवार म्युनिख लगायतका संघ सस्थाका पदाधिकारीहरु, समाजसेवी तथा ब्याबसायीहरु संग समेत छलफल गरेको र उक्त छलफल कार्यक्रममा बिभिन्न संघ सस्थाहरुले आफ्नो तर्फ बाट इनासको कार्यक्रमका लागि आर्थिक, नैतिक तथा भौतिक हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्वता जनाएको हुदाँ आफुहरु कार्यक्रम सफलता पुर्वक सम्पन्न हुने कुरामा  निकै सकारात्मक रहेको ईनास युरोप संयोजक सन्त कुमार थापा मगरले बताएका छन्।

इनासले हरेक वर्ष आयोजना गर्ने महादेशस्तरको कार्यक्रमलाई नेपालीहरुको ठुलो सांस्कृतिक पर्वको रुपमा मनाउने गरिएको छ। गत वर्ष बेल्जियममा सम्पन्न सातौं युरोप सम्मेलनको बेला इनास युरोपको आठौं सम्मेलन जर्मनीमा आयोजना गर्ने गरि ग्लोबल समितिले अनुमति प्रदान गरे अनुसार यसपटकको सम्मेलन जर्मनीको म्युनिखमा हुन लागेको हो।

आउदो अप्रिल ३ र ४ तारिकका आयोजना हुने यस दुई दिने कार्यक्रमको पहिलो दिन इनास युरोप महादेश भरि रहेका राष्ट्रिय समितिहरुको बैठक, प्रगति विवरण र भावी योजना प्रस्तुत हुनेछ भने दोश्रो दिन आठौँ युरोप महादेशस्तरीय एकल नृत्य र पाचौं  एकल गायन प्रतियोगिता हुनेछ। 

बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, फिनल्याण्ड, स्विट्जरल्याण्ड, चेक गणतन्त्र, अष्ट्रिया, नर्वे लगायतका मुलुकहरुबाट ठूलो संख्यामा कलाकार, साहित्यकार, पत्रकार, नेपाल सरकारका प्रतिनिधिहरु, युरोप स्थिति नेपाली कुटनैतिक निकायका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहने यस कार्यक्रममा अन्य महादेशहरुबाट समेत इनास र अन्य संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ।