पोखरामा हुने आहा रारा गोल्ड कपमा एक विदेशी सहित १० टिमको सहभागि हुने


पोखरा- यही फागुन २२ गते देखि पोखरामा संचालन हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७६ मा एक विदेशी सहित १० टिमको सहभागिता हुने भएको छ । चैत एक गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा भारतको गान्टोक सिटी फुटबल क्लव सहित १० टिमको सहभागिता हुने भएको सहारा क्लवले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब, विभागिय टोली गत बर्षको उपविजेता त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी वलको एपिएफ, नेपाल आयल निगम मनाङ म¥याङदी क्लब, ब्रिगेट व्बाइज क्लव, संकटा क्लव, झापा ११ फुटबल क्लव र आयोजक सहारा क्लव सहभागि हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

उक्त प्रतियोगिताको पुरस्कार राषिमा यस बर्ष बृद्धि गरिएको छ । पुरस्कार राषिमा बृद्धि गरी प्रतियोगिताका बिजेतालाई १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसै गरी उपविजेतालाई ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गनिरे भएको छ । यस अघि प्रतियोगिताका बिजेताले ७ लाख एक हजार र उपविजेताले ३ लाख ५० हजार रुपैया प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार ५ सय रुपैया खर्च हुने क्लवले जनाएको छ । प्रतियोगिताबाट एक करोड १८ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैया सहारा एकेडेमीको लागि खर्चिने भएको छ । यसपाली प्रायोजक तथा सह—प्रायोजक सहित धेरै दाताहरुको सहयोग प्राप्त भएकोले क्लवले अपेक्षा गरे अनुसार आम्दानी गर्न सफल हुुने अर्थ समितिका संयोजक सुनिल गुरुङ बताए ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न उक्त प्रतियोगिताले थप सहयोग पुग्ने क्लबले जनाएको छ । नवप्रतिभावान फुटबल खेलाडीलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान समेत गरिने भएको महासचिव अधिकारीले बताए । ३५ हजार नगद सहित प्रमाण—पत्रको साथमा दोसल्ला ओढाई सम्मान गनिरे भएको छ ।

उक्त अवसरमा सहारा युकेका महासचिव धनु थकालीले क्लबका अध्यक्ष थापालाई ट्रफि हस्तान्तरण गरेका थिए । केही बर्ष देखि म्यान अफ दी म्याच तथा विभिन्न विधामा उत्कृष्ट हुने ५ जना खेलाडीको ट्रफि सहारा युकेले प्रायोजन गर्दै आएको छ ।

क्लवका अध्यक्ष थापाले यस बर्ष कोरोना भाइरसका कारण भारतको एक टिम बाहेक अन्य विदेशी टिम सहभागि गराउन नसकिएको जनाए । जापान, क्याम्रुङ, भारत दिल्लीबाट समेत केही क्लवहरुसंग कुराकानी भए पनि अन्तिम समयमा कोरोना भाइरसका कारण सहभागि नभएको उनले जनाए । क्लवले यसपाली आफ्नो टिममा विदेशी खेलाडी सहितको बलियो टिम तयार पार्दै गरेको अध्यक्ष थापाले जनाए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले आहा रारा गोल्ड कपको अवसरमा यसपाली रंगशालाका सवै तर्फका ढोका खुल्ला गर्ने बताए । पोखरा रंगशालामा प्यारापिट सहितको फुटवल मैदान निर्माणकै क्रममा भएकोले प्यारापिट तथा सौचालयमा सुरक्षाकर्मी एवं स्वयमसेवक खटाउन उनले आग्रह गरे । फागुपुर्णि पर्वको अवसरमा पोखरा रंगशालामा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको सदस्य गुरुङले बताए । सहारा फूटवल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु रहेकाछन्।