भ्रष्टाचार गर्ने एकपछि अर्को कारबाहीको दायरामा पर्न थालेका छन् ।’- परराष्ट्रमन्त्री


बार्सिलोना । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशमा सकारात्मक परिवर्तन र विकासका कामहरु भइरहेको बताउँदै अत्यधिक नकारात्मक नबनिदिन आग्रह गरे । एनआरएनए स्पेनले शनिबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन्। 

‘हामीले अहिले कानुनको शासन कडाइका साथ लागू गर्न खोजेका छौं । पहिले मान्छेले भ्रष्टाचार गर्थे, कारबाही हुँदैनथ्यो । कानून हातमा लिन्थे, कारबाही हुँदैनथ्यो,’ मन्त्री ज्ञवालीले भने, ‘ठूलालाई चैन, सानालाई ऐन भन्ने उखान त्यसै बनेको होइन नि ।’

स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासँगै कार्यक्रममा अतिथि बनेका मन्त्री ज्ञवालीले भने, ‘अहिले तपाईंले हेर्नुभयो भने ठूला-ठूला मान्छेहरु, माननीयहरु, मन्त्रीहरु, सांसदहरु, न्यायाधीशहरु, ठूला व्यापारीहरु एकपछि अर्को गर्दै कारबाहीको दायरामा पर्न थालेका छन् ।’

मन्त्री ज्ञवालीले थपे, ‘०५२ सालदेखि लफडा भएको रहेछ नि ललितानिवासको जग्गा, कतिजनाले त्यहाँबाट लाभ लिएका रहेछन् । माटोमुनि गए पनि छोड्दैनौं भनेजस्तो उधिनेर आज कारबाहीको प्रक्रियामा ल्याइएको छ । मानिसहरुलाई विश्वास जागेको छ,गल्ती गरेपछि कसैलाई पनि छाडिँदैन ।’अन्तरक्रियामा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति थियो ।

मन्त्री ज्ञवाली जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन युरोप आएका हुन् । बैठक मंगलबारदेखि सुरु हुने भए पनि २ दिनअघि नै उनी स्विट्जरल्याण्ड पुगेर स्पेन आएका थिए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य रहेका ज्ञवालीले पार्टीनिकट युरोपमा रहेका कार्यकर्ताहरुसँग पनि आज बार्सिलोनामा भेटघाट तथा छलफल गर्ने भएका छन्।

स्पेनमा नयाँ नेपाली दूताबासको अवलोकन समेत नगर्ने तथा आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ताको पहल नगरी कार्यकर्ता भेटघाट र घुमफिरमा केन्द्रित हुनुलाई मन्त्री ज्ञवालीको स्पेन भम्रणलाई कतिपय नेपालीहरुले आलोचना गरेका छन्।