विदेशबाट फर्किएका नेपालीहरु क्वारेन्टाइनमा बस्नुपर्ने


काठमाडौं। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले विदेशमा रहेका नेपालीहरूलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रवार अपरान्ह अध्यागमन विभागले एउटा सूचना जारी गर्दै विदेशी नागरिकलाई ‘अन अराइभल’ प्रवेशाज्ञा रोक्नेदेखि नेपाली नागरिकलाई अत्यावश्यक अवस्था बाहेक नेपालमा नआउन भनिएको जनाएको हो।

गैरआवासीय नेपालीको हकमा पनि ‘अन अराइभल भिसा’ उपलब्ध गराउने व्यवस्था स्थगित गरिएको जनाइएको छ। शनिवारबाट नेपालमा प्रवेश गर्ने विदेशी एवम् नेपाली नागरिक दुवैलाई यहाँ आएको मितिले १४ दिनसम्म क्वारन्टीनमा बस्न भनिएको छ। 

विदेशीलाई स्वयं र स्वदेशीलाई घरभित्र अलग्गै बस्न भनिएको छ। अहिले घोषणा गरिएको व्यवस्था लागु हुने अवधिमा तेस्रो देशका नागरिकलाई स्थलमार्गबाट प्रवेश नदिने भनिएको छ।