स्पेनबाट नेपाल फर्कन जटिल:–कोरोना नभएको प्रमाणसहित दूताबासबाट भिसा लिनुपर्ने,


स्पेन । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य दूतावसबाट नै भिसा लिन र आवेदन दिँदा कोरोना नभएको प्रमाण पेस गर्नुपर्ने भएको छ। नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले यहाँबाट फर्किने नेपालीले अनिवार्य प्रक्रिया पूरा गर्नुपर्ने म्याड्रिडस्थित नेपाली दूताबासले जनाएको छ। 

यस्तै स्वदेश फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको छ। म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको हो । 

साथै स्पेनमा कोरोनाको संक्रमणदर उच्च भएकाले सेवा लिन दूतावासमै आउनु पर्ने बाध्यतालाई भने दूतावासले हटाएको छ । दूतावासको टेलिफोन वा कर्मचारीको मोबाइलमा सम्पर्क गरी सम्पूर्ण जानकारी लिन सकिने बताइएको छ ।

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुने दूतावासले जनाएको छ ।सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्टको तत्काल कारबाही गरेर फोनमार्फत बोलाउने व्यवस्था दूतावासले मिलाएको छ ।

कोरोनाका कारण स्पेनमा १२० बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले स्पेनसहित ८ देशलाई उच्च संक्रमित देशको सूचीमा राखी आवागमन, भिसा र स्वास्थ्य परीक्षणका लागि विशेष व्यवस्था गरेको छ।