कोरोनाविरुद्ध सचेतना जगाउन मुख्यमन्त्री गुरुङको आह्वान


कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सचेतना जगाउन पार्टीमा सबै सदस्य लाग्न आह्वान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले आजदेखि शुरु गरेको तीनमहिने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको यहाँ शुभारम्भ गर्दै उहाँले पार्टीका अभियान र कोरोनाविरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीले शुरु गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पार्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना सचेतनासँगै अभियानका क्रममा यसै महिनाभित्रमा पार्टी सदस्यता नवीकरण, सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लाग्ने जानकारी दिनुभयो । अध्यक्ष थापाले स्थानीय सरकारका कामलाई थप प्रभावकारी बनाइने तथा बाँकी रहेको जनवर्गीय सङ्गठनको एकीकरणको कामलाई समेत तीनमहिने अभियानका क्रममा सम्पन्न गरिने जानकारी दिनुभयो । सो अभियान आगामी जेठ मसान्तसम्म सञ्चालन हुने बताइन्छ ।