स्पेनमा ४ करोड ६० लाख मानिस क्वारेन्टाइनमा,घर बाहिर निस्कन जटिल


बार्सिलोना। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभरका ४ करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्। कोरोना भाइरस कोभिड–१९को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । शनिबार प्रधानमन्त्री सान्चेसले घोषणा गर्दै दुईहप्तासम्म सो ब्यबस्था लागु गर्ने बताएका छन्।सरुवा रोगको संक्रमण नफैलियोस् भनेर मानिसलाई अलग्गै राख्ने अभ्यासलाई ‘क्वारेन्टाइन’ का नामले चिनिन्छ।

खाद्यान्न खरिद गर्न,अस्पताल वा औषधी खरिदका लागि,बैंकबाट रकम निकाल्न,परिबारको सदस्यको बिरामी भएमा सहयोगका लागि लगायत अत्याबश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले अनुरोध गरेको छ। 

यसअघि सरकारले शुक्रबार नै मुलकभर आपतकालीन अवस्थाको घोषणा गरेको थियो।  युरोपमा ईटालीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ । शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १९५  पुगेको छ भने हालसम्म करिव ६ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

नेपालीहरु सङ्क्रमित भएको खबर छैन : दूतावास

स्पेन झण्डै १० हजार नेपालीको बसोबास छ । हालसम्म नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित नभएको म्याडि्रडस्थित नेपाली दूताबासले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याडि्रड हो । त्यस सो क्षेत्रमा नेपालीहरुको संख्या न्यून छ । झन्डै ४ हजार नेपालीहरु बसोबास गर्ने ठानिएको कातोलोनिया क्षेत्रमा कोरोनाको प्रभाव तुलानात्मक रुपमा कम देखिएको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरुलाई घरमै बस्न र कोरोनाबाट सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग पनि सम्पर्क गरिरहेको छ । कुनैपनि सहयोग चाहिएमा जुनसुकै बेला सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु ।’

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुनेछ । सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्ट तत्काल हेरिने र फोनमार्फत बोलाउने व्यवस्था मिलाइएको मडि्रडस्थित नेपाली दूतावासले जनाएको छ ।

व्यवसायीहरु चिन्तित
स्पेनमा रहेका नेपालीहरु मध्ये केही व्यवसयी पनि छन् । उनीहरु भने कोरोनाको संक्रमण फैलिएसँगै चिन्तित छन् ।झण्डै ५ बर्षदेखि बार्सिलोनामा व्यवसाय गर्दै आएका दिनेश गिरी अहिलेको अवस्था निकै चिन्ताजनक भएको बताउँछन् । एनआरएनए स्पेनका उपाध्यक्ष समेत रहेका उनका ३ वटा रेष्टुरेन्टमा झन्डै ३० जना कामदार छन् ।

शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । उनले भने, ‘दुई हप्तामात्र हो वा कति समयसम्म लम्बिने हो अन्योल नै छ । सरकारले कस्तो सहयोग गर्ला ? खर्चको स्रोत कसरी जुट्ला ? यस विषयलाई लिएर व्यवसायी र कामदार सबै अन्यौलमा छौं ।’

सरकारले सामाजिक सुरक्षाबारे केही घोषणा नगरेकाले कामदारहरु पनि चिन्तित देखिएका हुन् । यस्तै आवासीय अधिकारको वैधानिक प्रक्रियामा रहेका नेपालीहरुलाई झनै अप्ठ्यारो पारेको छ ।

किनमेलमा जटिल
कोरोनाको संक्रमण फैलिएसँगै अत्यावश्यक खाद्यान्न सामग्रीहरु खरिद गर्न कठिनाई उत्पन्न भएको छ ।

बिहान सुपरमार्केटहरु खोल्नु अगावै मानिसहरुको लामो लाइन लागेको थियो । ठुलो भिडभाडको कारण केहि स्थानहरुमा प्रहरी समेत परिचालन गरिएको थियो । कोल्ब्याङस्थित एक सुपरमार्केट मार्कादोनामा सामान किन्न झण्डै डेढ घण्टा बढी लाइन बस्दा पनि आफूलाई आवश्यक पर्ने सामान नपाएको एक नेपाली ईश्वर शर्मा बताउँछन् ।

कतिपय नेपालीले भने यसअघि अत्यावश्यक सामग्रीहरु जोहो गरिसकेको बताएका छन् ।