ईटालीमा कोरनाको भयावह, कस्तो छ नेपालीहरुको अबस्था ?


बार्सिलोना । कोरोना भाइरस संक्रमण युरोपमा ह्ववात्तै बढेको छ। प्रभावित मुलुकमध्ये इटली अग्रप्रक्तिमा छ । पछिल्लो एक सातादेखि इटली ‘लक–डाउन’ को अवस्थामा छ । १५ दिनको  ‘क्वारेन्टाइन’ अवधि तोकिएको भए पनि मुलुकको पछिल्लो अवस्था हेर्दा अझै बढ्न सक्ने देखिएको छ।

अति आवश्यकीयबाहेक घरबाट बाहिर निस्कनसमेत प्रतिबन्ध गरिएको छ। नियमको उलंघन गरेमा ३ महिना जेल सजायदेखि २ हजार युरो जरिवानासमेत तोकिएको छ। इटलीका २४ हजार ७४७ संक्रमित छन् भने १ हजार ८०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटालीलाई समेत हेर्दै आएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासका अनुसार, इटालीमा १ हजार ७ सय ३२ जना नेपाली छन् ।  हालसम्म कुनै पनि नेपाली कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट संक्रमित नभएको दूतावासले जनाएको छ। एक सातादेखि घरभित्रै बसेका नेपालीहरू मानसिक तनाव झेल्नुपरेको बताउँछन् । सामान्य खोकी लागे पनि, हाछ्यु आए पनि संक्रमण भइहाल्यो कि भन्ने मानसिक त्रास उनीहरूमा छ ।

हामीले स्विट्जरल्याण्डस्थित नेपाली दूतावास तथा इटालीस्थित नेपाली समुदायका अगुवाहरूलाई सम्पर्क गरेका थियौं ।

मणिप्रसाद भट्टराई, स्विट्जरल्याण्डका लागि नेपाली राजदूत

दैनिक रुपमा प्रत्येक शहरहरुमा रहेका नेपालीहरुका अगुवाहरु लगायत नेपाली कन्सुलर पाउलो नुगारीलाई सम्पर्क गरिरहेका छौँ। उहाँले सबै शहरमा रहेका नेपालीहरुलाई नियमित सम्पर्क गरिरहनु भएको छ। उहाँ पनि दैनिक रुपमा दूतावाससँग सम्पर्कमा नै हुनुहन्छ।

अहिलेसम्म सङ्क्रमित भएको कुनै नेपालीहरु छैन भनेर उहाँले रिपोर्ट दिनुभएको छ। तर अहिले प्रकोपको स्थिति भने युरोपभरि नै अप्ठ्यारो छ। इटालीको एक साता अघिदेखि नै  पूर्णरुपमा लकडाउन भएको छ।

सुरुवाती दिनहरुमा कतिपय नेपाली विद्यार्थीहरु इटलीबाट  नेपाल फर्कने ईच्छा ब्यक्त गर्दै दूतावासको सम्पर्कमा आएका थिए। तर टीआईएमा स्वास्थ्य जाँच हुने र त्यस्तो देखियो भने क्वारेन्टाइनमा बस्नुपर्ने अबस्था देखिएपछि मनस्थिति परिवर्तन गर्नुभयो। यहाँ पनि स्वास्थ्य सुविधाहरु राम्रो नै छ। खानपिनको सप्लाई रोकिएको छैन। उपचारमा भेदभाव हुँदैन । त्यो देखेपछि उहाँहरुले मनस्थिति चेन्ज गर्नुभयो। त्यसपछि इटालीबाट नेपाल फर्कन्छु भन्ने सोच राखेर नियोगमा कसैले पनि सम्पर्क गर्नुभएको छैन।

विशेष गरी इटालीमा रहेका नेपाली नागरिकहरुलाई  हाम्रो अनुरोध के छ भने त्यहाँ स्थानीय प्रशासनले लागु गरेको नियमलाई पालना गरौं। आफू सुरक्षित रहौं, अन्य नेपालीहरुलाई पनि सुरक्षित रहन प्रेरित गरौं । एक अर्काको सम्पर्कमा रहिरहाैँ । हामीले यसप्रकारका सन्देशहरु दूतावासबाट जारी गरिरहेका छौँ।

यदि कसैले कठिनाइ महसुस गर्नुभयो भने पनि कन्सुलरमार्फत सम्पर्क नम्बर दिएका छौँ । कन्सुलर नुगारीले पनि सम्बन्धित सरकारी निकायमा खबर गर्नुहुनेछ। हाम्रो यहाँ पनि लोकल स्विस मिसन छ। यसका लागि तयारीमा नै छौँ । मानौँ उपाचार लगायत सप्लाइमा समस्या देखियो वा भेदभाव देखियो भने पनि हामी सम्बन्धित निकायमा खबर गर्नेछौँ । तर हालसम्म त्यस्तो कुनै कठिनाइ आएको देखिँदैन।

डा. भीम बहादुर बम, संस्थापक अध्यक्ष, एनआरएनए इटाली

म ३० वर्षदेखि इटालीमा बस्दै आएको छु । प्रकोपको भयावह अवस्थाको सामना हामीहरुले पहिलोपटक गरिरहेका छौँ ।

एक हप्तादेखि हामी घरभित्रै क्वारेन्टाइनमा बसेका छौँ । तर संक्रमणको चाप बढिनै रहेको छ। तर यसको रिजल्ट एक-दुई हप्तापछि मात्रै थाहा हुन्छ। तर बढी प्रभावित क्षेत्र बन्द गरेको दुई हप्ता भइसक्यो। त्यहाँ नियन्त्रण भएको देखिन्छ। तर अन्य क्षेत्रहरुमा भने बढेको बढ्यै छ।

हामी बसेको ठाउँबाट १० किलोमिटर पर कोपडोनियो भन्ने ठाउँ छ । त्यहाँबाट इटलीमा यो भाइरसको प्रकोप सुरु भएको हो। यस्तो सानो ठाउँबाट भाइरस फैलियो कि जो यिनीहरुलाई कत्तिपनि अनुमान नै थिएन । तर यिनीहरुको ध्यान एयरपोर्ट कन्ट्रोलतिर केन्द्रित भयो।

पहिले जसलाई संक्रमण भएको थियो उ ३८ वर्षको मान्छे थियो। जब योबारे थाहा भयो, त्यो बेलासम्म प्रकोप फैलिइसकेको थियो। पहिलोचोटि  संक्रमित ती ३८ वर्षीय व्यक्ति एक हप्ताअघि पनि बिरामी परेका थिए । इमर्जेन्सीमा अस्पताल पनि पुगेका थिए । तर सामान्य रुघाखोकी भन्दै उनलाई घर फर्काइयो। तर दोस्रोपटक एकदमै ग्राहो भएर उपचारका लागि अस्पताल पुगे। त्यसपछि थाहा भयो कि यसको कारण त कोरोना भाइरस रहेछ । त्यतिबेलासम्म थुप्रै मान्छेहरुमा फैलिसकेको थियो।

ती ब्यक्ति फुटबल पनि खेल्थे । खेलकुदप्रेमी थिए। उनले काम गर्ने ठाउँ, फुटबल खेल्ने साथिहरु, इमरजेन्सीमा उपचार गर्ने डाक्टर नर्सहरुलाई पनि संक्रमण भेटिसकेको रहेछ । मुलुकभर झन्डै २२ हजारलाई संक्रमण देखिन्छ।

यो प्रकोपलाई नियन्त्रण गर्नका लागि नागरिकहरु सबैभन्दा बढी सचेत हुन जरुरी छ। नियमहरु पालना नगर्ने, जथाभावी घरबाहिर निस्कने, प्रकोपलाई सामान्यरुपमा लिँदा पनि झनै भयावह स्थिति आउन सक्छ । सुरुवाती दिनहरुमा नागरिकको स्तरबाट खासै सहयोग देखिएन । तर अहिले आएर सबै सचेत र सजग देखिएका छन् । तर इटलीको यो घटनाबाट हामीले पाठ सिक्न सक्छौँ । जस्तो चाइनामा नै हेरौँ, नागरिकस्तरबाट नै सरकारलाई सहयोग मिलेर नै अहिले प्रकोप लगभग नियन्त्रणमा आएको देखिन्छ। एकजना ब्यक्तिले सामान्य रुपमा नै लिइदिँदा पनि ठूलो संकट आउन सक्छ ।

छवीलाल कंडेल, एनआरएनए उपाध्यक्ष, इटली

एक हप्तादेखि घरभित्रै छौं। कोठाभित्रै रहँदा अलिकति तनाव त भइहाल्छ। सामान्य खोकी लागे पनि, हाछ्यु आए पनि संक्रमण भइहाल्यो कि भन्ने मानसिक त्रास हुँदोरहेछ । किनमेल, औषधि उपाचारलगायतका अति आवश्यक कामका लागि मात्र घरबाहिर निस्कन प्रशासनको अनुमति छ। नियम उल्लंघन गरेमा ३ महिनासम्म जेल सजाय र २ हजारसम्म जरिवाना गर्ने बताइएको छ।

रात्रिकालीन यातायात सुविधाहरू पनि बन्द छन्। सुपरमार्केटहरूमा पनि एकैचोटि मान्छेहरू छिर्न सकिँदैन। अलिकति दूरीमा बसेर लाइन बस्ने, १० जनाभित्र छिरेको छ भने तिनीहरूले किनमेल सकेपछि फेरि त्यति नै संख्यामा भित्र पठाउने गरेको छ। बाटोमा अहिले खासै मान्छेहरू देखिँदैनन् । त्यही सुपरमार्केटमा किनमेलका लागि मात्र निस्केका देखिन्छन्।

यस्तो बेला धैर्यता चाहिन्छ। त्यसैले नियमको पालना गरौं। आफू पनि सचेत हौं र अरूलाई पनि गराऔं ।