नेपालमा १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ


काठमाडौँ – फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन युवतीको सम्पर्कमा रहेका सबै व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक परीक्षण गराएका मध्ये कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । टेकुमा अहिलेसम्म ६ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ढकालले भारतीय नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई मध्यनजर गर्दै एक हप्ताका लागि नाका बन्द निर्णय गरिएको बताउनुभयो । नेपाल फर्किसकेका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै मन्त्री ढकालले कोरोनोको लक्षण देखिएमा सरकारले तोकेको मापदण्ड अनुसार जुनसुकै अवस्थामा पनि राज्यले उपचारको व्यवस्था मिलाउने बताउनुभयो ।