पोखराका भीडभाड हुने स्थानमा किटनासक औषधी छर्कन सुरु


पोखरा – पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । उनले महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने बताए । मेयर जिसीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग आग्रह गरेका छन् ।

महानगरमा पहिलो चरणमा १ सय लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम सुरु गरिएको र आवश्यकता अनुसार खरिद गरी मुख्य मुख्य स्थानमा किटनासक औषधी छरिने पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए । उनले विशेष गरी यो किटनासक औषधी अस्पताल र सार्वजनिक स्थल जहाँ भीडभाड बढी हुन्छ त्यहाँ छर्किने बताए।