कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग सहकार्य गर्नुपर्ने सुझाव


पोखरा – विश्व स्वास्थ्य संगठनको नेपालका लागि प्रतिनिधि जोस भ्यान्डेलियरले कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

चिनियाँ राष्ट्रिय सञ्चारमाध्यन सिन्ह्वालाई दिएको अन्तर्वार्तामा उनले कोरोनाविरुद्ध लड्न चीनले हासिल गरेको विज्ञताको प्रयोग गरेर नेपालले फाइदा सक्ने बताएका हुन् । “तीन देशको सहकार्यले सबैले एक अर्काबाट सिक्न सक्नेछन्, ” भ्यान्डेलियरले भने ।

नेपालले यसअघि भारत र चीनसँग कोरोनाविरुद्ध लड्न सहायता मागेको थियो । भाइरसले महामारी कै रुप लिए केही सामाग्री स्थानीय रुपमै उपलब्ध भए पनि पिपिई र भेन्टिलेटरजस्ता उपकरण ठूलो मात्रामा विदेशबाट आपूर्ति गर्नुपर्नेछ । यसका लागि विश्व स्वास्थ्य संगठन र अन्य संस्थाहरुले समन्वय संयन्त्र बनाउँदै गरेको पनि भ्यान्डेलियरले बताए ।

भाइरस नियन्त्रण लिन सबैभन्दा पहिले बिरामी पत्ता लगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारलाई निगरानी बढाउन पनि सुझाव दिए । चीनबाट लिन सकिने सबैभन्दा ठूलो पाठ भनेको जनतालाई भाइरस सम्बन्धमा शिक्षित बनाउनु र निगरानी बढाएर सकेसम्म धेरै परीक्षण गर्नु, बिरामीको पहिचान गर्नु र उनीहरुको उपचार गर्नु रहेको पनि भ्यान्डेलियरले बताए ।

नेपालले हालसम्म ६ सय ८७ नमुना परीक्षण गराएकोमा ६ सय ८४ को नतिजा नेगेटिभ आएको थियो भने ३ जनामा कोरोना संक्रमण देखा परेको छ । नेपालले भाइरस संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ भने ७ दिनका लागि राष्ट्रव्यापी लकडाउन आव्हान गरेको छ ।